रवि लामिछानेले गगन थापा जिताए, मलाई धोका दिएः स्वागत नेपाल

काठमाण्डु टुडे २०७९ मंसिर १३ गते ८:४५ मा प्रकाशित

काठमाण्डु, १३ मंसिर– प्रतिनिधिसभामा झापा–२ बाट स्वतन्त्र उम्मेदवारी दिएर पराजित भएका स्वागत नेपालले रवि लामिछानेले आफूलाई धोका दिएको आरोप लगाएका छन् ।

आफ्नो क्षेत्रमा घण्टी चिन्हमा उम्मेदवारी दिएर रविले धोका दिएको टिप्पणी उनले गरे । स्वतन्त्र अभियानलाई एकै ठाउँ ल्याउन आफूले प्रयास गरेको स्मरण गर्दै उनले काठमाण्डु–४ मा काँग्रेस महामन्त्री गगन थापा जिताउन उम्मेदवारी फिर्ता लिन लगाएका रविले आफूलाई भने हराएको बताए । घण्टीको उम्मेदवारी फिर्ता भएको भए आफूले सजिलै चुनाव जित्ने दाबी उनको छ ।

क्रस खुकुरी चुनाव चिन्ह लिएर उम्मेदवार बनेका नेपाल एमालेका देवराज घिमिरेसँग पराजित भए । घिमिरे २८ हजार ६ सय ९७ मतसहित विजयी हुँदा नेपालले नेपालले २६ हजार ४ सय ४१ मत पाए । उनीहरुबीच २ हजार २ सय ५६ को मतान्तर छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले रुद्रप्रसाद गिरीलाई उम्मेदवारमर बनाएको थियो । गिरीले ८ हजार ७ सय ७७ मत प्राप्त गरे । ‘मैले रवि लामिछानेजीलाई घण्टीको उम्मेदवारी फिर्ता लिइदिन भनेको थिएँ’, नेपालले भने, ‘गगन थापाको क्षेत्रमा उम्मेदवारी फिर्ता लिएर जिताउनुभयो, मलाई उहाँको सहयोग भएन ।’

नेपालले आफूले लामिछाने, सुमन सायमी, रमेश खरेल लगायत समान मुद्धा बोकेकाहरु मिलेर जान अन्तिमसम्म प्रयास गरे पनि रविका कारण उक्त प्रयास असफल भएको टिप्पणी गरे । लामिछानेले सुरुमा झापा–२ बाट उम्मेदवारी नदिने आश्वासन दिएको भए पनि धोका भएको गुनासो नेपालले गरे ।

रविको असहयोगका कारण आफू थोरै मतान्तरले पराजित भए पनि मतदाताको मन जित्न सफल भएको उनले बताए । एक महिनाको तयारीमा मतदाताको अभूतपूर्व माया पाएको भन्दै उनले खुसी व्यक्त गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us