जुम्लामा मतदान केन्द्रतिर जादै गरेको जीप दुर्घटना, ६ जना घाइते

काठमाण्डु टुडे २०७९ मंसिर १ गते १७:२१ मा प्रकाशित

जुम्ला,१ मंसिर– जुम्लामा मतदान केन्द्रतिर जादै गरेको कर्मचारी चढेको बोलेरो जीप दुर्घटना भएको छ । भे १ च २१८८ नम्बरको जीप तातोपानी ४ रावतबाडामा एक्कासि अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

जीप सडकदेखि करीब २० मिटर तल खसेको छ । दुर्घटनामा परी मतदान केन्द्रमा खटिएका मतदान अधिकृत हरिप्रसाद देवकोटा, सहायक मतदान अधिकृत आदीप्रसाद न्यौपाने, नेपाल प्रहरीका सई सीताराम दराई, सहायक हवलदार सुरज चन्द, प्रहरी जवान राजेन्द्र विष्ट र एकजना कार्यालय सहयोगी घाइते भएका छन् ।

घाइतेमध्ये प्रहरी हवल्दार चन्द र प्रहरी जवान विष्ट गम्भीर घाइते भएको प्रहरी निरीक्षक धर्मराज जोशीले जानकारी दिए । अहिले घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us