शेयर बजारमा उच्च वृद्धि

काठमाण्डु टुडे २०७९ कार्तिक १५ गते १६:५४ मा प्रकाशित

काठमाण्डु, १५ कात्तिक– साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ ।

५६.११ अंक अर्थात २.९९ प्रतिशतले वृद्धि भएर सेयर बजार मापक नेप्सेले १९३०.९९ अंक छोएको छ । तिहार र छठ पर्वको सार्वजनिक बिदामा एक साता बन्द भएर पहिलो दिन सोमबार बजार खुलेको थियो ।

सोमबार नेप्से १६ अंकभन्दा बढीले वृद्धि भएको थियो । ‘क’ वर्गका कम्पनीहरुको मापन गर्ने सेन्सिटिभ इन्डेक्समा पनि ११.२८ अंकको उच्च वृद्धिसहित ३८२.१४ अंकमा बन्द भएको छ । वित्त कम्पनी उपसूचक ५.४ प्रतिशत र अन्य उपसूचक ५.२८ प्रतिशतले वृद्धि भएको छ ।

व्यापार, हाइड्रोपावर र लगानी उपसूचकमा ४ प्रतिशतभन्दा माथिले वृद्धि भएको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । ३९ लाख ७१ हजार ५ सय ९४ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २९ करोड ६ लाख ६५ हजारको कारोबार भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us