दसैंपछि खुलेको पहिलो दिनमै शेयर बजारमा उच्च वृद्धि

काठमाण्डु टुडे २०७९ असोज २३ गते १७:४८ मा प्रकाशित

काठमाण्डु, २३ असोज– लामो दसैं बिदापछि आइतबार पहिलो दिन खुलेको सेयर बजारमा नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।
गत असोज १३ गते अन्तिम कारोबार दिन १६ अंकले बढेर बन्द भएको बजारमा आइतबारदेखि कारोबार सुरु भएकामा ४५ अंकले उकालो लागेको हो ।

दसैंको बिदा अघि १८५३.७६ रहेको नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आज ४४.६२ अंक बढेर १८९८.३८ मा उक्लिएको छ । बजार परिसूचक ४४.६२ अंक अर्थात २.४१ प्रतिशतले बढ्दा ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ८.७८ अंकले बढेर ३७२.२१ मा पुगेको छ ।

बजार बढेपनि कारोबार रकम भने १ अर्ब पनि कट्न सकेन । २२४ कम्पनीको ८३ करोड ६८ लाख ७३ हजार १ सय ४० रूपैयाँ बराबरको सेयर खरिद बिकी भएको छ ।
उप–समूहतर्फ आइतबारको कारोबारमा १३ ओटै समूहको सेयर मूल्य बढेको छ । सबैभन्दा धेरै फाइनान्स समूह ४.६९ प्रतिशतले बढ्यो ।

बढ्दो बजारमा १७५ कम्पनीको सेयर मूल्य बढ्दा ८ कम्पनीको सेयर मूल्य घटेको छ ।

सप्तकोशी विकास बैंक, उपकार लघुवित्त, गुह्वेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, मितेरी विकास बैंक, एक्सेल विकास बैंक उच्च कमाउने ५ कम्पनी रहेका छन् ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us