आज बडादशैं, टीकाको उत्तम साइत ११ः५१ मा

काठमाण्डु टुडे २०७९ असोज १९ गते ६:४९ मा प्रकाशित

काठमाण्डु, १९ असोज– आज हिन्दू नेपालीको महान चाड बडादशैंको मुख्य दिन ।

मान्यजनका हातबाट टीका तथा जमरा लगाई मनाइँदै छ । मान्यजनका हातबाट दशैं घरमा नौ दिनसम्म दुर्गा भवानीको पूजाआराधना गरी राखिएको जमरासहितको टीका लगाइन्छ । जमरालाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा जमरालाई ग्रहण गर्ने प्रचलन छ ।

आजदेखि कोजाग्रत पूर्णिमासम्म पाँच दिनसम्म टीका लगाउन सकिने नेपाल पञ्चाङ्क निर्णायक समितिले जनाएको छ ।
पूजाकोठा तथा दशैंघरमा विधिपूर्वक राखिएको जमरा आजैका दिन देवीपूजा विसर्जन गरी निकालिएपछि पूर्ण घडाको जलले अभिषेक गरी आफ्ना मान्यजनबाट नवदुर्गा भवानीको प्रसाद, टीका र जमरा लगाई आशीर्वाद थापिन्छ ।

आजका दिन परिवारमा आफूभन्दा ठूलाबडा, बाजेबज्यै, बाबुआमा, गुरूपुरोहित तथा मान्यजनको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरूबाट यश, ऐश्वर्य वृद्धि तथ दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिने गरिन्छ ।
बिहान ११ बजेर ५१ मिनेटमा टीकाको उत्तम साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए । यद्यपि त्यसपछि पनि दिनभर नै टीका लगाउन सकिने अधिकारीले उल्लेख गरे ।

विजयादशमीका दिन चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पूर्व फर्कनुपर्ने समितिले जनाएको छ । लगाइदिने मानिस पश्चिम फर्कँदा मकर राशिमा रहेका चन्द्रमा दाहिने हुन्छन् । चन्द्रमा दाहिने वा सम्मुख पारेर टीका लगाउनुपर्ने शास्त्रीय मान्यता छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us