सय जनाको जम्बो टोलीसहित आउँदैछन् चिनियाँ जनकंग्रेस अध्यक्ष ली

काठमाण्डु टुडे २०७९ भदौ २७ गते ८:०० मा प्रकाशित

काठमाण्डु, २७ भदौ– चिनियाँ राष्ट्रिय जनकङ्ग्रेसका अध्यक्ष ली चान्सु आज नेपालको औपचारिक भ्रमणका लागि १ सय जनाको जम्बो टोलीसहित काठमाण्डु आइपुग्दैछन् ।

सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा आउन लागेको ली नेतृत्वको टोली तीन दिन नेपाल बस्नेछ । ली चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का पोलिट्ब्युरो स्थायी समितिमा राष्ट्रपति सी जिनपिmङ र प्रधानमन्त्री ली खस्याङपछि तेस्रो वरियताका नेता हुन् । तीन वर्षअघि भएको राष्ट्रपति सीको राजकीय भ्रमणपछि चीनका तर्फबाट हुन लागेको यो सबैभन्दा उच्च भमण हो ।

काठमाण्डु उत्रिएलगत्तै लीले सभामुख सापकोटाबाट भेटवार्ता थालनी गर्ने कार्यसूची छ । लीको सम्मानमा सभामुख सापकोटाले सोमबार साँझ रात्रिभोज आयोजना गरेका छन् । लीले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग छुट्टाछुट्टै भेट्ने तय भएको छ ।

यस्तै बुधबार उनले राष्ट्रपति विद्यादेवी भण्डार, र पूर्वप्रधानमन्त्रीद्वय एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट्नेछन् ।

रूस र मंगोलिया हुँदै नेपाल आउन लागेका उनी बिहीबार दक्षिण कोरिया हुँदै चीन फर्कने कार्यक्रम रहेको समाचार संस्था सिन्हवाले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us