काठमाण्डु, २४ भदौ– बेलायती महारानी एलिजावेथ द्वितीयको निधनमा नेपालमा तीन दिन शोक मनाइने भएको छ ।
शुक्रबार साँझ बसेको मन्त्रिपरिषद बैठकले एलिजाबेथको निधनमा दुःख व्यक्त गर्र्दै उनको सम्मानमा तीन दिन शोक मनाउने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
बैठकले भदौ २५ देखि २७ गतेसम्म तीन दिन शोक मनाउने निर्णय गरेको कार्कीले बताए । उनका अनुसार नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय मन्त्रिपरिषदले गरेको छ ।
बैठकपछि जारी ज्ञिवप्तिमा यस दुखःद् घडीमा बेलायत सरकार, बेलायती जनता एवं शोक सन्तप्त बेलायती राजपरिवारप्रति नेपालका तर्फबाट हार्दिक समवेदना प्रकट गरिएको छ ।
७० वर्ष बेलायतको राजकाज चलाएकी एलिजावेथको ९६ वर्षको उमेरमा बिहीबार राति स्कटल्यान्डस्थित बालमोरल क्यासलमा निधन भएको थियो ।