बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र उद्घाटन

काठमाण्डु टुडे २०७९ भदौ ११ गते १२:५४ मा प्रकाशित

बुटवल, ११ भदौ– प्रधानमन्त्री शेरबहादुर देउवाले बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी) शनिबार उद्घाटन गरेका छन् ।

बुटवल मण्डपको साढे ९ बिघा क्षेत्रफलमा फैलिएको नवनिर्मित सम्मेलन केन्द्रमा एक हजार क्षमताको मुख्य हल छ । यस्तै अरु एक सयदेखि ३ सय क्षमताका १२ सहायक हल सम्मेलन केन्द्रमा रहेको छ । शहरी विकास तथा भवन निर्माण विभागले निर्माण गरेको सम्मेलन केन्द्रका सबै १३ वटै हल वातानुकुलित छन् ।

सम्मेलन केन्द्र बनाउन एक अर्ब ३ करोड खर्च लागेको कार्यक्रममा जानकारी दिइयो । हल निर्माण सुशील कोइराला प्रधानमन्त्री भएका बेला २०७१ सालबाट सुरु भएको थियो । तर, महाभूकम्प, रुख कटानमा ढिलाई र कोरोना महाकारीका कारण आयोजना सम्पन्न हुन समय लागेको हो ।

सम्मेलन केन्द्रमा बाल उद्यान, क्यान्टिन, सर्भिस भवन, ३ तले कर्मचारी आवास, वाटर फाउन्टेन, पानी पोखरी लगायत संरचना छन् । सम्मेलन केन्द्रसँगैको ६ बिघा क्षेत्रफलमा अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र समेत बन्दै छ । कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँण, सहरी विकासमन्त्री मेटमणि चौधरी, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र एमाले सांसद एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल सहभागी थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us