माओवादीलाई कृष्ण सिटौलाको ब्रिफिङः केपी ओलीलाई रञ्जित तामाङले चुनाव हराउन सक्छन्

काठमाण्डु टुडे २०७९ भदौ ५ गते १७:०१ मा प्रकाशित

काठमाण्डु, ५ भदौ– सत्ता गठबन्धनले आसन्न ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा एमाले अध्यक्ष केपी ओलीलाई जसरी पनि चुनाव हराउने रणनीति लिएको छ ।

ओलीलाई हराएर उनको ‘अहंकार’ को जवाफ दिनेबारे गम्भीर तयारी भएको गठबन्धनद्वारा गठित सिट बाँडफाँट कार्यदलका एक सदस्यले बताए ।
उनका अनुसार झापा–५ मा ओलीलाई हराउन सक्ने सम्भावित उम्मेदवारको पनि खोजी भएको छ । यसअघि ०७४ मा ओलीसँग काँग्रेसका डा. खगेन्द्र अधिकारी चुनाव लडेका थिए ।

ओली ५७ हजार १ सय ३९ मत ल्याएर निर्वाचित हुँदा अधिकारीले २८ हजार २ सय ५७ मत पाएका थिए । सुरुमा गठबन्धनबाट काँग्रेस महामन्त्री विशवप्रकाश शर्मालाई ओलीविरुद्ध उभ्याउन खोजिएको थियो । तर, शर्माले रुची देखाएनन् । बरु यसअघि बाम गठबन्धनका उम्मेदवार माओवादीका राम कार्कीसँग पराजित भएको झापा–१ बाट उम्मेदवार हुने अडान लिएका छन् ।

शर्मापछि कार्कीलाई झापा–५ मा चुनाव लड्न भनिएको थियो । कार्कीले पनि आँट नगरेपछि माओवादी युवा नेता रञ्जित तामाङलाई उम्मेदवार बनाउनेबारे कार्यदलमा करिब सहमति भएको छ ।

कार्यदल संयोजक काँग्रेस नेता कृष्ण सिटौलाले तामाङलाई उम्मेदवार बनाउन प्रस्ताव गरेका छन् । कार्यदलमा सिटौलाले तामाङको नाम प्रस्ताव गरेका हुन् । ‘ओलीलाई हराउन ओलीकै शैलीमा भाषण गर्न सक्ने र युवा चाहिन्छ’, सिटौलाको भनाइ उद्धृत गर्दै एक कार्यदल सदस्यले भने, ‘रञ्जित तामाङले ओलीलाई हराउन सक्छन्, उनैलाई टिकट दिनुपर्छ ।’

तामाङ माओवादी सम्वद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष हुन् । पुसमा सम्पन्न माओवादी महाधिवेशनबाट उनी पार्टी केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

यसपटक हारिसकेका कारण फेरि डा. अधिकारीलाई उठाउँदा माहोल नआउने र आफ्नो पार्टीका तर्फबाट सो क्षेत्रमा ओलीलाई टक्कर दिन सक्ने अर्को उम्मेदवार नभएकाले तामाङलाई अघि सार्नुपर्ने काँग्रेसले बताएको छ । तामाङले आफू पनि ओलीसँग चुनाव लड्ने सम्भावित उम्मेदवार भएको बताए ।

उनले झापा प्रतिगामीहरुको नभई क्रान्तिकारीहरुको जिल्ला भएको भन्दै यसपटक ओलीलाई जसरी पनि हराइने जिकिर गरे । ‘झापा प्रतिगामीको केन्द्र बन्न सक्दैन’, तामाङले काठमाण्डुटुडेसँग भने, ‘यसपटक केपी ओलीलाई हराएर निरंशुकतामाथिको जितको झण्डा उठाउनुपर्नेछ ।’ तामाङले आफूले टिकट पाए ओलीलाई हराउन सक्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us