
काठमाण्डु, २ भदौ– प्रमुख प्रतिपक्षी एमालेले प्रभावित क्षेत्रका स्थानीयको समस्यालाई नजर अन्दाज गरिएका कारण काठमाण्डु उपत्यकाको फोहोर व्यवस्थापनमा अवरोध उत्पन्न भएको बताएको छ ।
बिहीबार प्रतिनिधिसभाको सून्य समयमा बोल्दै एमाले सांसद् कृष्णकुमार राईले फोहोर व्यवस्थापनमा सरकार र काठमाण्डु महानगरपालिका असफल भएको बताए । त्यसका लागि काठमाण्डुका मेयर बालेन्द्र शाह र सहरी विकासमन्त्री मेटामणि चौधरीले फोहोर व्यवस्थापन गर्न नसकेकामा लाचारी व्यक्त गरेको उल्लेख गरे ।
उनले बालेन र सरकारसँग फोहोर व्यवस्थापनको कुनै योजना र खाका नरहेको आरोप लगाए ।
‘चारबुँदे सम्झौता पछि पनि फोहोर उठ्न सकेको छैन । जनताको समस्यालाई नजरअन्दाज गरिरहेको छ । स्थानीय जनता फोहोर व्यवस्थापन महानगरले गर्ने कि मन्त्रालयले गर्ने भन्ने अन्यौल रहेको छ’ राईले भने, ‘विचारणीय कुरा चाहिँ के हो भने महानगरपालिका र मन्त्रालयले नयाँ योजना ल्याउन सकेको छैन । पुरानै शैलीमा फोहोरलाई माटोले पुरेर छोड्ने काम गरिरहेको छ ।’