छिट्टै माओवादीको विशेष महाधिवेशन गर्ने प्रचण्डको घोषणा

काठमाण्डु टुडे २०७९ भदौ २ गते ११:०८ मा प्रकाशित

काठमाण्डु, २ भदौ– माओवादी केन्द्रले तत्कालै विशेष महाधिवेशन गर्ने भएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई ध्रुवीकृत र एकीकृत गर्ने प्रक्रिया अघि बढेकाले केही समयमै विशेष महाधिवेशन हुने बताए । पेरिसडाँडास्थित पार्टी मुख्यालयमा रामवृक्ष यादवको २८औं स्मृति दिवसका अवसरमा बिहीबार आयोजित  कार्यक्रममा उनले समाजवाद स्थापनाका लागि वामपन्थी आन्दोलनको धु्रवीकरण प्रक्रिया अघि बढेको बताए ।

डा. बाबुराम भट्टराई र वामदेव गौतमले हँसिया हथौडा चिन्हमा चुनाव लड्न तयार हुने र नेकपा एकीकृत समाजवादीले निर्वाचनपछि पार्टी एकता गर्ने गरी एकता संयोजन समिति निण्र्माण गर्नुले कम्युनिष्ट शक्तिबीचको ध्रुवीकरणलाई संकेत गर्ने उनको भनाइ थियो ।

प्रचण्डले आफ्नो पार्टीमा थुप्रै विचलन आएको स्वीकार गरे । विचलनका बाबजुद पार्टीलाई क्रान्तिकारी बनाइराख्ने सम्भावना भनै कायमै रहेको उल्लेख गरे । ‘विचार र अन्तर्राष्ट्रिय परिस्थितिको संश्लेषण गरेर अर्को महाधिवेशन छिट्टै गर्दै माओवादीलाई क्रान्तिकारी पार्टीको रुपमा विकास गर्न सकिन्छ,’ उनले भने ।

चुनावपछि वामपन्थी ध्रुवीकरण तीव्र हुने भए पनि तत्कालका लागि पाँच दलीय सत्ता गठबन्धन कायमै राखेर निर्वाचनमा जाने उनको स्पष्टोक्ति थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us