
काठमाण्डु, २ भदौ– राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता गरेको नेपाल नागरिकता ऐन संशोधन विधेयक बिहीबार नै पारित हुने भएको छ ।
सत्ता गठबन्धनको निर्णयअनुसार गृहमन्त्री बालकृष्ण खाणको आग्रहमा संसद्ले विधेयक पारित तयारी गरेको हो । विधेयक पारितको सम्भावित कार्यसूची बुधबार प्रकाशन भइसकेको छ।
राष्ट्रपतिले साउन २९ गते सन्देशसहितको विधेयक प्रतिनिधि सभामा फिर्ता गरेकी थिइन् । साउन ३० गते विधेयक फिर्ताको सन्देश प्रतिनिधि सभामा पेस गरिएको थियो । प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले सरकारसँगको परामर्शका आधारमा सम्भावित कार्यसूची तय गरिएको बताए ।
सत्ता गठबन्धनमा आबद्ध दलहरूले विधेयक पुनर्विचारका लागि पठाए पनि जस्ताको तस्तै अघि बढाउने समझदारी गरेको थियो । गठबन्धनको निर्णय र सरकारको आग्रहअनुसार प्रतिनिधि सभामा बिहीबार गृहमन्त्री खाणले सन्देशसहित फिर्ता आएको विधेयकमा विचार गरियोस् प्रस्ताव पेस गर्नेछन् । त्यसपछि सन्देशमा उठाइएका विषयमा आधारित भएर छलफल हुनेछ ।
छलफलपछि विधेयक पारितको कार्यसूची रहनेछ । यसपटक पनि विधेयक समितिमा नपठाइ सदनबाटै पारित गर्न लागिएको हो । गोरखापत्र दैनिकबाट