
काठमाण्डु, २ भदौ– निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा निजामती कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा कैदीहरूलाई समेत मतदानको अवसर दिने भएको छ ।
यसका लागि गृहकार्य भइरहेको आयोगले जनाएको छ । आयोगका अनुसार कर्मचारी, सुरक्षाकर्मी तथा कैदीहरूलाई मतदानको अवसर प्रदान गर्न कारागार, सैनिक ब्यारेक, सशस्त्र क्याम्प, प्रहरी कार्यालय तथा विभिन्न कारागारमा मतदान केन्द्र रहनेछन् । अहिले देशभरका विभिन्न कारागारमा करिब २६ हजार कैदीबन्दी छन् ।
देशभर ७० वटा जिल्ला कारागार छन् । जेल तथा सैनिक ब्यारेकमा निर्वाचन गराउने कर्मचारी कारागार तथा सैनिक ब्यारेकमै पुग्नेछन् । कार्यालय बिदाको दिनमा कार्यालय जानुपर्ने कर्मचारीले पनि सहज किसिमले मतदान गर्न पाऊन् भन्ने उद्देश्यले आयोगले यसपटक प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारभित्रै एउटा मतदान केन्द्र राख्ने तयारी गरेको छ ।
आयोगका अनुसार यसपटक कर्मचारी, सुरक्षाकर्मी तथा कैदीबन्दीले समानुपातिकतर्फ मतदान गर्न पाउने भएका छन् । प्रत्यक्षतर्फ भने उनीहरूले मतदान गन पाउनेछैनन् । नागरिक दैनिकबाट