सिसडोलमा बालेन साहलाई घडेरी उपहार !

काठमाण्डु टुडे २०७९ भदौ १ गते १८:५४ मा प्रकाशित

काठमाण्डु, १ भदौ– काठमाण्डु उपत्यकाको फोहोर बिसर्जन हुँदै आएको सिसडोल बञ्चरे डाँडाका बासिन्दाले बुधबारदेखि थप कडा आन्दोलन गर्ने भएका छन् ।

काठमाण्डु महानगरपालिकाले प्रहरी लगाएर फोहोर फाल्न थालेपछि सो क्षेत्र केही दिनयता अशान्त छ । बञ्चरेडाँडामा स्थानीय र प्रहरीबीच दिनहुँजसो झडपका घटना भइरहेका छन् । मंगलबार प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो ।

भिड नियन्त्रणका लागि सुरक्षाकर्मीले गोलीसमेत चलाएका थिए । सिसडोल बञ्चरेडाँडा सरोकार समितिका संयोजक नवराज ढुंगाना विश्वासले आफूहरुका माग सम्बोधन गर्नुको साटो प्रहरीको बलमा जबर्जस्ती फोहोर फालिएकाले कडा रुपमा प्रस्तुत हुनुपर्ने अवस्था आएको बताए । उनले बुधबारदेखि धादिङको धुनिबेसी नगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र काठमाण्डुको तारकेश्वर नगरपालिकाका प्रभावित सबै नागरिकलाई आन्दोलनमा उतारिने चेतावनी दिए ।

राज्यले प्रभावित क्षेत्रका बासिन्दाका समस्या समाधान गर्ने प्रतिबद्धतासहित १ सय ७४ वटा लिखित सहमति गरे पनि पालना नगरेको विषयमा ध्यानाकर्षण गराउँदा पीडितहरु नै सरकारी गुण्डागर्दीको शिकार बन्नुपरेको उनले बताए । ढुंगानाले सिसडोल बञ्चरेका नागरिकको पीडा काठमाण्डुबासीसहित सबैले बुझिदिनुपर्ने बताए ।

वर्षौंदेखि अस्तव्यस्त तवरले फोहोर बिसर्जन गर्दा आसपासका बस्तीमा मानिस बस्न सक्ने अवस्था नरहेको उनको भनाइ थियो ।

उनले काठमाण्डु महानगरका मेयर बालेन्द्र साह (बालेन), नुवाकोट, धादिङ र काठमाण्डुका सिडिओ र एसपीलाई निःशुल्क घडेर दिने भन्दै सिसडोल क्षेत्रमा घर बनाएर बस्न चेतावनी दिए । ‘बालेन, नुवाकोट, धादिङ र काठमाण्डुका सिडिओ र एसपीलाई हामी निःशुल्क घडेरी उपलब्ध गराउँछौं’, ढुंगानाले काठमाण्डुटुडेसँग भने, ‘धेरै होइन एक साता घरमा बसेर देखाइदिए हुन्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us