एमालेले जितेका सिटमा सत्ता गठबन्धनबीच भागबण्डा

काठमाण्डु टुडे २०७९ साउन २३ गते ७:३८ मा प्रकाशित

काठमाण्डु, २३ साउन– आसन्न ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल गरेका सत्तारुढ पाँच दलले सिट बाँडफाँटका लागि गठन गरेको कार्यदलको पहिलो बैठक आज बस्ने भएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा अपराह्न ३ बजे कार्यदल बैठक बस्न लागेको हो । गठबन्धनका शीर्ष नेताको २० साउनमा बसेको बैठकले तालमेलको सैद्धान्तिक सहमति गर्दै सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।
कार्यदलमा कांग्रेसबाट नेता कृष्ण सिटौला, महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, माओवादी केन्द्रबाट वर्षमान पुन अनन्त र जर्नादन शर्मा प्रभाकर छन् । यस्तै एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव डा. बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

कार्यदललाई साउन महिनाभित्र कुन दलले कुन निर्वाचन क्षेत्र लिने भन्ने प्रतिवेदन शीर्ष नेतासमक्ष बुझाउन कार्यादेश दिइएको छ ।  श्रोतका अनुसार निर्वाचनमा यसअघि आफूले जितेका सिट आफैंले लिने र एमालेले जितेका स्थानमा भागबण्डा गर्ने सहमति पाँच दलबीच भइसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us