
काठमाण्डु, ३ साउन– गत ३० वैशाखको स्थानीय चुनावमा पनि एमालेले पार्टी प्रवेश अभियान चलाएको थियो ।
खासगरी माओवादी र एकीकृत समाजवादीसँग गठबन्धनका लागि नेतृत्व तहमा औपचारिक वार्ता नगर्ने, तर ती पार्टीहरूबाट नेताकार्यकर्तालाई व्यक्तिगत रूपमा प्रवेश गराउने पुरानै रणनीतिलाई एमालेले पछ्याएको हो । पछिल्ला दिनमा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसहित उनीनिकट नेताकार्यकर्तालाई भने एमालेले पार्टीमा फिर्ता गर्ने उद्देश्यसहित अनौपचारिक छलफललाई तीव्रता दिइरहेको छ ।
उपाध्यक्ष सुरेन्द्र पाण्डेले सोमबार जनकपुरमा आयोजित प्रशिक्षण कार्यक्रममा एकीकृत समाजवादीबाट नेताकार्यकर्ताको ठूलो पंक्ति एमाले प्रवेश गर्ने तयारीमा रहेको बताएका छन् । पछिल्ला दिनमा माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, दोस्रो तहका नेताहरू वर्षमान पुन, देव गुरुङलगायतसँग पनि एमालेका दोस्रो पंक्तिका नेताहरू अनौपचारिक संवादमा छन् ।
उपमहासचिव ज्ञवालीले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणबाट माओवादीसँगको सम्भावित गठबन्धनको ढोका बन्द भएको बताए । ‘प्रचण्डजीले देशबाहिर गएर अहिलेकै गठबन्धनलाई निरन्तरता दिने प्रतिबद्धता मात्र होइन, तमसुक नै गरेर आउनुभएको छ । त्यसैले घामजून रहेसम्म उहाँले यही गठबन्धन कायम राख्नुहुने भो भन्ने हामीले बुझेका छौँ,’ ज्ञवालीले नभने, ‘जसलाई कांग्रेस बलियो भएकोमा खुसी छ, जसले कांग्रेसलाई पहिलो पार्टी बनाउँदा जितको अनुभूति गर्छ, त्यस्तालाई वामशक्ति मानेर पछाडि कुद्नुपर्ने आवश्यकता एमालेले ठान्दैन ।’
प्रचण्ड भारत भ्रमणमा रहेकै वेला गत ३२ असारमा आयोजित एक कार्यक्रममा भने ओलीले कांग्रेससँगको गठबन्धन तोडेर आएको खण्डमा माओवादीसँग चुनावी गठबन्धन हुन सक्ने संकेत गरेका थिए । ‘म आग्रह गर्न चाहन्छु– राफसाफ कुरा गरौँ । कोही वामपन्थी हुनुहुन्छ भने आउनुस्, गल्ती भइहाल्यो छोडिदिऊँ । वामपन्थी हुनुहुन्छ भने आउनुस् एमालेसँग मिलेर कांग्रेसविरोधी होइन, देशको पक्षमा, राष्ट्रियता, लोकतन्त्र र कानुनी राजको पक्षमा उभिएर काम गर्ने सरकार बनाऊँ र अगाडि बढौँ,’ ओलीले भनेका थिए, ‘चुनावमा बुथ कब्जा गर्ने, मतपत्र च्यात्ने, टोक्ने होइन । निष्पक्ष ढंगले चुनाव गर्ने लोकतान्त्रिक अभ्यास गर्ने सरकार बनाऊँ ।’ उनले सक्कली वामपन्थीका लागि आफू एकपटकका लागि शंकाको लाभ दिनसमेत तयार रहेको बताउँदै एमालेको नेतृत्वमा गठबन्धन बनाउन लचिलो बन्न सक्ने संकेत गरेका थिए ।
सर्कुलरमा ओलीले सत्तारूढ गठबन्धन टुट्ने सम्भावना न्यून रहेको औँल्याउँदै एक्लै लड्ने र पराजित गर्न सकिने आत्मविश्वासका साथ तयारी अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । त्यस्तै, स्थानीय निर्वाचनमा गठबन्धनको योजना र षड्यन्त्र सामना गरेर लोकप्रिय मतसहित पहिलो दल भएको तथ्यलाई स्थापित गर्ने गरी निर्वाचनको मूल सन्देश र शिक्षालाई स्थापित गर्ने र प्रतिरक्षात्मक मनोविज्ञानलाई अन्त्य गर्ने कामको अगुवाइ गर्न एमालेले पार्टीपंक्तिलाई निर्देशित गरेको छ । नयाँ पत्रिबाबाट