
काठमाण्डु, ३ साउन–कांग्रेसले प्रदेश र संघीय निर्वाचनमा अहिलेकै गठबन्धनसहित जाने निर्णय लिएसँगै प्रमुख प्रतिपक्षी एमाले दबाबमा परेको छ ।
गठबन्धनकै कारण स्थानीय निर्वाचनमा अपेक्षाकृत नतिजा पाउन नसकेको एमालेलाई कांग्रेसको पछिल्लो निर्णयले झनै अप्ठ्यारोमा पारेको छ । यद्यपि, आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने गरी चुनावको तयारी गर्न उसले तल्ला निकायलाई निर्देशन दिएको छ । तर, सर्तसहित तालमेलको ढोका पनि बन्द गरेको छैन ।
लोकतन्त्र र राष्ट्रियतालाई बलियो बनाउने उद्देश्यमा सहमत हुने जुनसुकै शक्तिसँग तालमेलका लागि छलफल गर्ने र एक्लै गठबन्धनको सामना गर्ने गरी तयारी अगाडि बढाउने एमालेको रणनीति छ । यसैअनुसार उसले सातै प्रदेशमा संघ र प्रदेश निर्वाचन लक्षित प्रशिक्षण सुरु गरेको छ । सोमबार मधेस प्रदेशको जनकपुरमा प्रशिक्षण आयोजना गरेको एमालेले ८ साउनमा गण्डकी प्रदेशमा प्रशिक्षण कार्यक्रम राखेको छ ।
उप–महासचिव प्रदीपकुमार ज्ञवालीले भने, ‘हामी मूलतः आफ्नै बलबुतामा, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौँ । तर, लोकतन्त्रलाई सुदृढ गर्ने, राष्ट्रियतालाई बलियो बनाउने हाम्रा उद्देश्यमा सहमत हुने शक्तिहरूसँग छलफल गर्न तयार छौँ । एमाले केवल सत्ता प्राप्तिका लागि, अंकगणित बदल्नकै लागि गठबन्धन बनाउने खेलमा सामेल हुँदैन’, उनले भने, ‘हामी मूलतः आफ्नै बलबुतामा, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौँ । तर, लोकतन्त्रलाई सुदृढ गर्ने, राष्ट्रियतालाई बलियो बनाउने हाम्रा उद्देश्यमा सहमत हुने शक्तिहरूसँग छलफल गर्न तयार छौँ,’ उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीको चुनावी रणनीतिबारे भने, ‘एमाले केवल सत्ता प्राप्तिका लागि, अंकगणित बदल्नकै लागि गठबन्धन बनाउने खेलमा सामेल हुँदैन ।’
अध्यक्ष केपी ओलीले पनि ज्ञवालीकै भनाइलाई पुष्टि गर्ने गरी १९ असारमा आफ्नै सामथ्र्यमा चुनाव लड्ने, तर गन्तव्यलाई केन्द्रबिन्दुमा राखेर भरपर्दो सहयात्री खोज्नेमा केन्द्रित हुने भन्दै पार्टीपंक्तिलाई आन्तरिक सर्कुलर जारी गरेका थिए । ‘राजनीतिक नैतिकता र स्वस्थ लोकतान्त्रिक प्रतिस्पर्धाका सीमारेखालाई बिर्सिदिएर सत्ताका लागि मात्रै गोटी चाल्ने हो भने गठबन्धन भत्काउन गाह्रो छैन,’ ओलीको सर्कुलरमा छ, ‘तर, तत्कालको स्वार्थपूर्तिका लागि टाउको गन्ती गर्नेतिर होइन, हाम्रो ध्यान आफ्नो गन्तव्यलाई केन्द्रबिन्दुमा राखेर त्यसका लागि भरपर्दो सहयात्रीलाई खोज्ने कुरामा केन्द्रित हुनुपर्छ ।’
ओलीले भरपर्दो सहयात्री राजनीतिक ध्रुवीकरणलाई तीव्रता दिँदै पार्टी प्रवेश अभियानबाट मात्र आर्जित हुने भन्दै त्यसअनुसार योजना बनाउन पार्टीपंक्तिलाई निर्देशित गरेका छन् । ‘राजनीतिक ध्रुवीकरणको प्रक्रियालाई तीव्रता दिँदै अन्य पार्टीबाट सक्दो प्रवेश गराउने नीति लिने । खासगरी निर्वाचन क्षेत्रको शक्ति सन्तुलनका आधारमा प्रतिस्पर्धाको अवस्था रहेको ठाउँमा जित सुनिश्चित गर्न र हामी अगाडि रहेको ठाउँमा जितलाई कायम गर्न पार्टी प्रवेशका ठोस र मूर्त योजनाहरू बनाई कार्यान्वयन गर्ने,’ चुनावी तयारीबारेको निर्देशनमा भनिएको छ । नयाँ पत्रिकाबाट