१३ आरोप लगाउँदै वामदेवलाई नयाँ पार्टीबाट निकालियो

काठमाण्डु टुडे २०७९ असार १८ गते १८:४५ मा प्रकाशित

काठमाण्डु, १७ असार– नगठित नेकपा एकता राष्ट्रिय अभियानबाट संयोजक वामदेव गौतम निष्काशनमा परेका छन् ।

गठबन्धनमा आवद्ध चार दलले शनिबार बैठक बसी वामदेव गौतमलाई निष्कासन गरेका हुन् ।

अभियानमा आवद्ध समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी) र आम नेपाली पार्टीका नेताहरुको बैठकले गौतमलाई शनिबार निष्काशित गरेको हो । गौतममाथि उनीहरुले पाँच बुँदे आरोप लगाएका छन् । ११ असारमा ललितपुरको धोबीघाटमा भेला गरी पार्टी घोषणा भएको थियो ।

शनिबार सतुंगलस्थित एक पार्टी प्यालेसमा बसेको चार दलका शीर्ष नेताको बैठकले गौतमलाई निष्काशन गरेको हो । उनीहरुले आफूहरुको पक्षमा पार्टीका बहुमत सदस्य रहेको दाबी गरेका छन् ।

गौतमलाई हटाएर चार दलले सचिवालय सदस्य युवराज सफलको संयोजकत्वमा संयोजकत्वमा ११ सदस्यीय सचिवालय समिति गठन गरेको छ । सदस्यहरुमा कृष्णगोपाल वञ्जरा, मीननाथ देवकोटा, नीलकण्ठ पौडेल, द्वारिका निरौला मानव, गुणबहादुर बञ्जरा, भरत कुमाल, भगवती ढकाल, सरस्वती न्यौपाने, तेजबहादुर कार्की र रोशन लामिछाने छन् ।

गौतममाथि सांठनिक अराजकता, निरंकुश तानाशाही शैली, चरम अवसरवादी चरित्र र अराजनीतिक व्यवहार प्रस्तुत गरेको, अहंकारवादी सोच र एकलौटी निर्णय गरेको, जालझेल, छलछाम, षड्यन्त्र र तिकडमबाजी कार्यशैली अपनाएको, नेकपा एकता राष्ट्रिय अभियानमा आबद्ध दलहरुको आडमा शक्ति बनाई सो शक्तिको चरम दुरुपयोग गरी उल्लेखित शक्तिहरुलाई सिध्याउने गतिविधि गरिएको, सम्पूर्ण बामपन्थी तथा समाजवादी शक्तिलाई बृहत कम्युनिष्ट एकतामा जोड्ने योजना बमोजिम नेकपा एकता राष्ट्रिय अभियान गठन गरिएकोमा गौतमले सो निर्धारित उद्देश्य विपरीत अभियानलाई सत्ता, शक्ति, पद प्राप्तिको लागि बार्गेनिङको माध्यम बनाएको आरोप लगाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us