महोत्तरी कारागारमा कैदीको मृत्यु

काठमाण्डु टुडे २०७९ असार १० गते १०:३० मा प्रकाशित

महोत्तरी, १० असार–  महोत्तरीको जलेश्वरस्थित कारागारमा आज बिहान एक कैदीको मृत्यु भएको छ।

महोत्तरीकै लोहारपट्टी नगरपालिका–१ का ८० वर्षीय राजकरण यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए।

कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय भोग्दै गरेका यादव बिहान २ बजे एक्कासी बेहोस भएका थिए।

उपचारका लागि तत्काल प्रादेशिक अस्पताल जलेश्वर लगिएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

यादवको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको बताइएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us