बाटो बिराएर उचाइ लिन खोज्दा विमान दुर्घटना

काठमाण्डु टुडे २०७९ जेठ १७ गते ७:२२ मा प्रकाशित

काठमाण्डु, १७ जेठ– १९ यात्रु र चालक दलका तीन सदस्यसहित २२ जना बोकेर तारा एयरको एन एइटी, डिएचसी ट्विनअटर विमान आइतबार बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उड्यो ।

यो विमानका लागि पोखरा–जोमसोम उडान समय १८ मिनेट हो । विमान जोमसोममा १०ः१३ बजे अवतरण गर्नुपर्ने थियो तर अवतरण गर्न ६ मिनेट बाँकी छदै सम्पर्कविहीन बन्यो ।

सम्पर्कविहीन भएलगत्तै बाटो बिराएको विमान करिब १३ हजार ५ सय फिटको उचाइको हिमाली खोंचको चट्टाने पहरोमा ठोक्किन पुग्दा क्षतविक्षत अवस्थामा फेला परेको छ ।

विमानमा यात्रा गरिरहेका यात्रु र चालक दलमध्ये २१ जनाको शव फेला परेको छ । एकजना अझै हराइरहेको प्रहरीले बताएको छ । चट्टानमा ठोक्किएर खोंचमा विमान खसेकाले उद्धार र शव निकाल्न कठिनाइ भएको प्रहरीले बताएको छ।

दुर्घटना स्थलमा उद्धारका लागि खटिएका प्रहरी निरीक्षक राजकुमार तामाङका अनुसार दुर्घटनास्थल निकै अप्ठ्यारो ठाउँमा थियो । करिब १३ हजार ५ सय फिटको उचाइको चट्टाने पहरोमा ठोक्किएपछि खोंचमा खसेको अवस्थामा विमान फेला परेको उनले बताए ।

नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us