
काठमाण्डु, ७ वैशाख– धुलो, धुवाँ र तुवाँलोका कारण काठमाण्ड लगायतका विभिन्न स्थानमा वायु प्रदूषण बढ्दै गएको छ ।
उपत्यकामा सोमबारदेखि राम्ररी आकाश खुलेको छैन । मौसम तातो छ, हावा कम चलेको छ । सर्वसाधारणले पनि अन्य दिनभन्दा तातो बढेको अनुभव गरेका छन् । मौसमविद् वरुण पौडेलले भने, “ठूलो वर्षा हुने सम्भावना छैन ।”
फाट्टफुट्ट पानी पर्न सक्ने अनुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार देशका अधिकांश भागमा अबको दुई दिन आंशिकदेखि सामान्य बदली रहनेछ । तातो लहर अबका दिनमा बढ्ने महाशाखाले उल्लेख गरेको छ ।
प्रिमनसुनको प्रक्रिया राम्ररी नचल्दा अत्यधिक गर्मी र तातो बढेको छ । वर्षा नभएकै कारण वायुमण्डलमा जम्मा भएको धुलोका कण आकाशमै रुमलिएको छ । वातावरण विभागले पनि वायु प्रदूषणकै कारण आकाश धुम्म भएको जनाएको छ । विभागका प्रवक्ता शङ्करप्रसाद पौडेलका अनुसार विभागले सूर्यको परावैजनी किरणको नापजाँच नगर्ने भएकाले त्यो विषयमा आफूलाई जानकारी नभएको बताए ।
उनले अहिले आकाश धुम्म हुनुका कारण तुवाँलो र वायु प्रदूषण रहेको दाबी गरे । विभागको वायु प्रदूषण गुणस्तर अनुगमन प्रणालीले पनि विगत २४ घण्टायता काठमाण्डुको कीर्तिपुरमा उच्च वायु प्रदूषण रहेको देखाएको छ । कीर्तिपुरमा वायु प्रदूषण सूचकाङ्क १७२ रहेको छ । रारा तालसम्म वायु प्रदूषण फैलिएको छ । त्यहाँको वायु प्रदूषण सूचकाङ्क १५० पुगेको छ । गोरखापत्र दैनिकबाट