बुटवल, २४ चैत– सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा देशभर गठबन्धन गरेर जाने सहमति गरे पनि लुम्बिनी प्रदेशमा भने नेकपा एकीकृत समाजवादी बाहेकको गठबन्धन बनेको छ ।
बुधबार लुम्बिनी प्रदेशसभामा नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा नेकपा एकीकृत समाजवादीबाहेक चार दलका प्रदेशस्तरीय नेताहरुको बैठक बसेको थियो।
उक्त बैठकमा माओवादी केन्द्रका लुम्बिनी प्रदेश ईन्चार्ज चक्रपाणी खनाल बलदेव, प्रदेश अध्यक्ष सुदर्शन बराल, नेपाली कांग्रेसका प्रदेश सभापति अमरसिंह पुन, जनता समाजवादी पार्टीका प्रदेश अध्यक्ष अशोककुमार यादव र राष्ट्रिय जनमोर्चाका प्रदेश उपाध्यक्ष बद्रे आलमलगायत सहभागी हुँदा एकीकृत समाजवादीबाट भने कोही सहभागी थिएनन्।