काठमाण्डुमा लिभिङ टुगेदरमा रहेका युवायुवतीको विभत्स हत्या

काठमाण्डु टुडे २०७८ पुष २३ गते ९:०२ मा प्रकाशित

काठमाण्डु, २३ पुस– काठमाण्डुको कपनमा एक जोडी युवायुवती मृत फेला परेका छन् ।

काठमाण्डु महानगरपालिका–६ कपन राधाकृष्ण मन्दिर नजिककै एउटा घरमा युवायुवती मृत भेटिएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार संखुवासभाका २५ वर्षीय अनिस जिमी र खोटाङकी युसुना राई मृत फेला परेका हुन् ।

मृतकहरुको शरीरमा धारिलो हतियारको चोट देखिएको छ । युवतीको शरीरका विभिन्न भागमा तथा युवकको घाँटीमा चक्कुले रेटिएको छ । महानगरीय प्रहरी अपराध मशाशाखाका प्रमुख एसएसपी चन्द्रकुबेर खापुङका अनुसार घटनाबारे जानकारी पाएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो । मृतक दुवै अर्धनग्न अवस्थामा फेला परेका थिए । प्रहरीले तत्कालै उद्धार गरी चावहिलस्थित हेल्पिङ ह्याण्ड अस्पताल ल्याएको थियो । तर, चिकित्सकले दुवैलाई तत्काल मृत घोषणा गरेका थिए ।

उनीहरुको कसैले हत्या गरेको हुन सक्ने आशंका प्रहरीको छ । कोठामा मदिराका बोतल र मासु भेटिएको छ । जिमी र राई लिभिङ टुगेदरको सम्बन्धमा रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाबारे विस्तृत छानबिन थालिएको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us