सेयरबजारकाे उकालाे यात्रामा ब्रेक : नेप्से परिसूचक ३०.७५ अंकले गिरावट

काठमाण्डु टुडे २०७८ पुष २१ गते १७:४३ मा प्रकाशित

काठमाण्डु, २१ पुस–  तीन दिनयता लगातार रुपमा उच्च अंकमा बढेको सेयर बजार मापक नेप्से परिसूचक बुधबार ब्रेक लागेको छ ।

तीन दिनमा १५५ अंकले बढेर २ हजार ६ सय विन्दुमाथि पुगेको नेप्से परिसूचक आज ३० अंकले गिरावट आएको छ ।साताको पहिलो कारोबार आइतबार ६० अंकले बढेको नेप्से सोमबार पनि त्यसैको निरन्तरता स्वरुप ३२ अंकले बढेको थियो भने आइतबार र सोमबारको भन्दा मंगलबार नेप्से परिसूचक ६३.०१ अंकले बढेको थियो ।

तर आज नेप्से परिसूचक ३०.७५ अंकले गिरावट आएर २ हजार ६४९.२० विन्दुमा झरेको छ । त्यस्तै ठूला कम्पनीको सेयर मूल्य मापक गर्ने सेन्सेटिभ इण्डेक्स पनि ६.६८ अंक, फ्लोट इण्डेक्स २.३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.७५ अंकले गिरावट आएको छ ।

बुधबार कारोबारमा आएका २३६ कम्पनीको ९५ लाख ५९ हजार ४२९ कित्ता सेयर ४ अर्ब ६२ करोड १५ लाख ९८ हजार ५८३ रुपैयाँको सयर कारोबार भएको छ ।

नेप्सेका १३ उपसमूहमध्ये जलविद्युत् र फाइनान्सबाहेक अन्य सबै उपसमूह राताम्मे भएको छ । जसमध्ये जलविद्युत् उपसमूह ०.४९ प्रतिशत र फाइनान्स उपसमूह ०.१ प्रतिशतले बढेको छ ।

होटल तथा पर्यटन उपसमूहको परिसूचक २.२१ प्रतिशतले गिरावट आएको छ । उत्पादन तथा प्रशोधन उपसमूह १.७४ प्रतिशत, विकास बैंक उपसमूहको परिसूचक १.७१ प्रतिशतले गिरावट आएको छ।

त्यस्तै, बैंकिङ, वित्त, लगानी उपसमूह र अन्य उपसमूहको परिसूचक करिव १ प्रतिशतले गिरावट आएको छ । नेप्सेमा गिरावट आए पनि आज मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयर मूल्य ९.९६ प्रतिशतले बढेर प्रतिकित्ता २१४.२० रुपैयाँ पुगेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us