संसद चल्न दिन्नौँ, प्रधानन्यायाधीश हटाउने खेलमा लाग्दैनौँ : एमाले

काठमाण्डु टुडे २०७८ मंसिर २३ गते १५:४५ मा प्रकाशित

काठमाण्डु, २३ मंसिर–  नेकपा एमालेले एउटालाई हटाएर अर्को व्यक्तिलाई ल्याउँदैमा न्यायालयमा सुधार नआउने भन्दै  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई हटाउने पक्षमा नरहेको बताएको छ ।

प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकारसँगको अन्तरक्रियामा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानन्यायाधीश हटाउने या नयाँ बनाउने खेलमा एमाले नरहेको बताए । उनले न्यायालयमा नेतृत्व परिवर्तनले मात्र समस्याको समाधान नहुने बताउँदै न्यायपालिकामा आमूल परिर्वतन जरुरी रहेको उल्लेख गरे ।

सर्वोच्च अदालतबाट एमाले सबैभन्दा पीडित भएको भन्दै ज्ञवालीले प्रधानन्यायाधीशको राजीनामा माग्दै न्यायाधीश र कानुन व्यवसायीले गरेको आन्दोलनका एजेन्डाबाट न्यायालयको सुधार नहुने बताए ।

उनले एमाले न्यायिक नेतृत्व हटाउने या राख्ने खेलमा सहभागी नहुने भन्दै स्वतन्त्र र सक्षम न्यायपालिकाको एजेन्डा उठाउनेलाई मात्र समर्थन रहने बताए ।

आगामी २८ मंसिरबाट सुरु हुने संसद् अधिवेशनमा एमालेको अवरोध कायम राख्ने उनको भनाइ छ । संसदमा आफहरूले उठाएका एजेन्डाको सम्बोधन नभएसम्म संसद् चल्नै नसक्ने ज्ञवालीको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us