ट्राफिक नियम उल्लंघनकर्ताले अब तत्काल जरिवाना तिरेर कागजपत्र लिन सक्ने

काठमाण्डु टुडे २०७८ मंसिर २३ गते १४:१४ मा प्रकाशित

काठमाण्डु, २३ मंसिर–  ट्राफिक नियम उल्लंघनकर्ताले अब तत्कालै जरिवाना तिरेर कागजपत्र लिन पाउने भएका छन् । सवारी चालकहरुले ट्राफिक नियम उल्लंघन गरे पश्चात ट्राफिक प्रहरीले जारी गर्ने २४ घण्टे पूर्जी बापत नियमानुसार तिर्नुपर्ने जरिवाना रकम अब तत्कालै कारबाही स्थलबाटै भुक्तान गरी आफ्नो कागजपत्र फिर्ता लिन सकिने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बिहीबार एक कार्यक्रम गरी प्रविधिमा आधारित ‘पे फाइन अन द स्पोर्ट – इन्स्ट्यान्ट पेमेन्ट सिस्टम’ व्यवस्थाको शुरुवात  गरे ।

सो अवसरमा एसएसपी भट्टराईले ट्राफिक सेवा आधुनिक तथा प्रविधियुक्त हुदै गएको बताए । उनले अब चिट काटेपछि जरिवाना तिरेर ट्राफिक कार्यालयमा गई कागजात फिर्ता लिने व्यवस्थामा परिमार्जन गरि थप सहज बनाउन जरिवाना रकम तत्काल भुक्तान गरी कागजात फिर्ता लिने प्रणाली शुरू गरेको बताए । पहिलो चरणमा गौशाला, दरवारमार्ग, थापाथली, जावालाखेल र जनसेवा गरी पाँच वटा ट्राफिक कार्यालयबाट शुरु गरेको यो सेवालाई क्रमश अन्य कार्यालयमा समेत बिस्तार गर्ने महाशाखाले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us