काठमाण्डु २३ मंसिर– प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपको माहोल बेग्लै छ । सधैँ विभिन्न प्रदर्शनी र चिया चौतारीको जमघटस्थल सो स्थानमा अहिले फरक दृश्य देखिन्छन् । नेपाली काँग्रेसको आसन्न १४औँ महाधिवेशन आयोजनास्थल भएकाले यसको रौनक फेरिएको छ ।
आम सर्वसाधारणको विभिन्न भेला, छलफल र चियागफ तथा भेटघाटको गन्तव्यस्थल बनेको खुला मैदान अहिले रङ्गीचङ्गी तुल, ब्यानरले भरिएको छ । महाधिवेशन उद्घाटनका लागि सो स्थानमा बनाइएको आकर्षक मञ्चले त झनै भृकुटीमण्डपलाई दुलहीझैँ सिङ्गारेको झलक देखिन्छ । हो, अहिले जो–कोहीको ध्यान खिच्ने स्थल बनेको छ काँग्रेस महाधिवेशन उद्घाटनस्थल, बन्दसत्र तथा मतदानस्थल ।
भृकुटीमण्डपको गेटबाटै सुरु हुन्छ, खचाखच ब्यानर । रुख, खाली स्थान, भित्ता कहीँ खाली ठाउँ छैन सबै उम्मेदवारका प्रचार सामग्रीले भरिएका छन् । प्रदर्शनीमार्गको सडकका दुवैतिरका भित्तामा प्रचार सामग्रीले सजिएका छन् । राष्ट्रियसभागृह र महेन्द्र पुलिस क्लब पनि चारतारे झण्डा र प्रचार सामग्रीले रङ्गिएको छ ।
गेटबाट भित्र झिर्नासाथ चारैतिर ब्यानरले झकिझाउ छ । चारतारे झण्डाले मञ्च सिङ्गारिएको छ । उद्घाटनस्थल मात्रै होइन, बन्दसत्र हुने प्रदर्शनी कक्षभित्र पनि आकर्षकरूपमा सजाइएको छ । भित्रपट्टि पनि छुट्टै मञ्च बनाइएको छ । चार दिनसम्म करिब पाँच हजार काँग्रेस का महाधिवेशन प्रतिनिधिले यो स्थानमा छलफल र बहस गरेर नयाँ नेतृत्व चुन्नेछन् । सोही स्थानभित्र विभिन्न पदाधिकारी र सदस्यका अकांक्षीले सम्पर्क कार्यालय खोलेर प्रतिनिधिलाई आकर्षण गरिरहेका छन् ।
तीनसय अट्ने मञ्च
काँग्रेस ले महाधिवेशन उद्घाटनस्थललाई भव्य र आकर्षक मञ्च बनाएको छ । सचिव पुडासैनीका अनुसार ८० फिट लम्बाइ र ४० फिट चौडाइको भव्य मञ्च बनाइएको छ । मञ्च बनाउन मात्रै १०० भन्दा बढी कामदार तीन दिनदेखि खटिएका छन् । यस्तै स्वागतगेट तथा प्रचार प्रसारका लागि थप ५० भन्दा बढी जनशक्ति खटिएका छन् ।
रोशन आर्ट सर्भिसले मञ्च बनाइरहेको छ भने सगरमाथा टेन्ट हाउसले टेन्टको व्यवस्था गरेको छ । दुई दिनदेखि दुवै कम्पनीका प्राविधिक तथा मजदुरले धमाधम काम गरिरहेका छन् । मञ्चमा ठूला लाइट तथा माइकको व्यवस्था गरिएको छ । रातिका समयमा पनि कार्यक्रम गर्न सकिने गरी बत्तीको व्यवस्था गरिएको छ । इन्टरनेटको सहजताका लागि महाधिवेशनस्थलमा नेपाल टेलिकमको टावर स्थापना गरिएको छ । मिडिया सेन्टर, सहायताकक्ष तथा विभिन्न होल्डिङ सेन्टरसमेत बनाइएको छ ।
महाधिवेशन प्रतिनिधि बस्नका लागि राजधानीका ठमेल, सुन्धारा र गौशलामा गरी तीन ठाउँमा होटल बुकिङ गरिएको छ । त्यहाँ हालसम्म तीन हजार ८०० प्रतिनिधिका लागि ८६ होटल बुकिङ गरिएको आवास तथा भोजन समितिका संयोजक एवं काँग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए । चार हजार ३०० महाधिवेशन प्रतिनिधि बस्न मिल्ने गरी होटल बुकिङ गरिएको छ ।
समितिले महाधिवेशनमा सहभागी हुने आठ हजार व्यक्तिका लागि खानाको व्यवस्था गर्न लागेको छ । बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्ड र बसुन्धराको दियालो फुडल्याण्डमा भोजनको व्यवस्था गरिएको । मङ्सिर २४ गते बेलुकादेखि २७ गते बेलुकासम्म खानाको व्यवस्था गरिएको हो ।