झापा, २० मंसिर– कनकाई नगरपालिका–६ का ३८ वर्षीया सविता खनालले कुरिलो खेतीबाट राम्रो आम्दानी लिन थालेकी छन् । उनले गत वर्ष पाँच कट्ठा जमिनमा लगाएको खेतीबाट रु तीन लाख ५० हजार आम्दानी भएको जानकारी दिइन् ।
उनले भनिन्, “कस्तो हुँदोरहेछ भनेर थोरै खेती गरेका थियौँ, आम्दानी त गज्जब भयो ।” उनले यस वर्ष एक बिघा जमिनमा व्यावसायिक रुपमा कुरिलो खती विस्तार गर्ने गरी बेर्ना उमारिरहेका छन्। छ महिना जति प्लाष्टिकको थुँगामा उमारेर हुर्काएको विरुवा रोपेको तीन महिनादेखि नै आम्दानी हुने गरेको उनको अनुभव छ । गत वर्ष लोकल जातको (मेरी वासिङ्टन) कुरिलोको बर्ना लगाएकी उनले यस वर्ष हाइब्रिड जातको कुरिलोको बर्ना हुर्काइरहेकी छन् ।
कोरोनाका कारण व्यापार व्यवसाय बन्द भएपछि दमक नगरपालिका–३ मा दुई जना युवा मिलेर कुरिलो खेती सुरु गरे । उनीहरुले एग्रो फर्म प्रालि कम्पनी नै दर्ता गरेर व्यावसायिक रुपमा १० कट्ठामा कुरिलो खेती लगाएका हुन् ।\
नारायण योङहाङ, याम भण्डारीको संयुक्त लगानीमा सुरु गरेको फार्मले बर्ना लगाएको सात महिनादेखि नै आम्दानी दिन सुरु गरेको थियो । उनीहरुले कोभिड–१९ को सङ्क्रमण फैलिइरहेको बेला प्रतिकेजी रु एक हजार ४०० ले बिक्री गरेको बताए ।
कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंहले कुरिलोलाई एक औषधिजन्य वनस्पति रुपमा लिइने बताए । उनले यो दोमट, बलौटे र पारिलो घाम लाग्ने माटोमा हुने हुँदा झापा कुरिलो खेतीका लागि उर्वरभूमि रहेको बताए । जिल्लामा विगतमा फाटफुट्ट मात्र यसको खेती हुने गरे पनि हाल व्यवसायिक रुपमा खेती सुरु हुन थालेको उहाँले जानकारी दिए । “कुरिलो बुहर्षीय बाली हो”, उनले भने, “एकपटक लगाएपछि राम्रो रेखदेख भएमा यसबाट पाँच वर्षदेखि सात वर्षसम्म उत्पादन लिन सकिन्छ ।”
कुरिलो पौष्टिक तथा पच्न सजिलो तरकारी भएकाले बिरामी तथा कमजोर व्यक्तिलाई खान दिने धेरै पुरानो प्रचलन हो । विगतमा जङ्गलमा उम्रिएको कुरिलो खोजेर खाने चलन भए पनि यसको व्यावसायिक खेती भने भर्खरै हुन थालेको मेचीनगर–१३ का ७५ वर्षीय हर्क इधिङ्गोको भनाइ छ ।