नौ लाख ७२ हजार मात्रा कोरोना खोप आज आउँदै

काठमाण्डु टुडे २०७८ मंसिर १५ गते १७:४२ मा प्रकाशित

काठमाण्डु, १५ मंसिर–  कोरोना भाइरसविरुद्धको नौ लाख ७२ हजार मात्रा खोप आज आउँदै छ । भारतको सिरम इन्स्टिच्युट अफ इन्डिया कम्पनीबाट कोभिसिल्ड खोप आउन लागेको हो ।  स्वास्थ्य सेवा विभागको आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुङ्गानाले कोभ्याक्स सुविधाअन्तर्गत नौ लाख ७२ हजार मात्रा खोप आज आउन लागेको बताए ।

यस्तै, यही मङ्सिर २२ गते कोभ्याक्समार्फत छ लाख मात्रा खोप आउने उनले बताए । उनले नियमित रुपमा खोप आइरहेको बताए । सरकारले नियमित रुपमा खोप आउन थालेपछि १८ वर्षभन्दा माथिका सबैलाई खोप लगाउन आग्रह गरेको छ ।

यस्तै, बालबालिकालाई लगाउने खोप मोडर्ना यही शुक्रबार नेपाल आउने भएको छ । अमेरिकाबाट खरिद गरिएका मोडर्ना खोप एक लाख ८८ हजार मात्रा आउन लागेको आपूर्ति शाखा प्रमुख ढुङ्गानाले जानकारी दिए । यसअघि बालबालिकालाई लगाउने फाइजर खोप आएको थियो । उनका अनुसार नेपालमा अहिलेसम्म दुई करोड ६१ लख ९६ हजार मात्रा खोप आइसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us