केदारभक्त माथेमालगायत पूर्वउपकुलपतिले भने- बारको आन्दोलनको न्यायोचित निकास देऊ

न्यायालयले जनताको विश्वास गुमाएपछि न्याय पाउन जनता जाने कहाँ ?

काठमाण्डु टुडे २०७८ कार्तिक २७ गते १७:३० मा प्रकाशित

काठमाण्डु, २७ कात्तिक– त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपतिले नेपाल बार एसोसिएसनको आन्दोलनको न्यायोचित निकासका लागि सरकार र राजनीतिक दलहरूलाई ध्यानाकर्षण गराएका छन्।

पूर्वउपकुलपतिहरू महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, कमलकृष्ण जोशी, नवीनप्रकाश जंग शाहले उक्त विषयबारे ध्यानाकर्षण गराएका हुन्।

शनिबार पूर्वउपकुलपतिद्वारा जारी विज्ञप्तिमा – ‘लामो समयदेखि सर्वोच्च अदालतमा भइरहेको बार एसोसिएसनको आन्दोलन र जिम्मेवार निकायहरूले त्यसप्रति देखाएको उदासिनता देशकै लागि ठूलो दुर्भाग्यको विषय बनेको छ। गम्भीर कुरा के भने न्यायालयप्रति जनताको विश्वासमा स्खलन आउन नदिन पनि आन्दोलनले अविलम्ब निकास पाउन जरूरी छ ।’

‘न्यायालयले जनताको विश्वास गुमाएपछि न्याय पाउन जनता जाने कहाँ ? यस्तो स्थितिप्रति सरकार र राजनैतिक दलहरू सम्बेदनहीन भएर बस्नु भनेको अत्यन्त आश्चर्यलाग्दो छ। जनताले सरकारलाई गैरजिम्मेवार र राजनैतिक नेताहरूलाई अवसरवादीको आक्षेप लगाउने स्थिति नआओस् भन्ने हामी चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us