सिंगापुरले हटायो नेपालमाथिको यात्रा प्रतिबन्ध

काठमाण्डु टुडे २०७८ कार्तिक ७ गते १५:४६ मा प्रकाशित

काठमाण्डु, ७ कात्तिक– कोभिडको महामारी बढेपछि सिंगापुर सरकारले नेपालसहितका देशका यात्रुमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ ।

सिंगापुर सरकारले जारी गरेको नयाँ ट्राभल एड्भाइजरीअनुसार अब सिंगापुरको यात्रा गर्न चाहने नेपालीले ठूलो राहत प्राप्त गर्नेछन् । हजारौं नेपाली सिंगापुर प्रहरीलगायत त्यहाँका विविध क्षेत्रमा कार्यरत छन् । सिंगापुरको पर्यटकीय तथा व्यावसायिक यात्रा गर्ने नेपालीहरु पनि प्रशस्तै छन् । सिंगापुर काठमाडौंसँग सोझो हवाई सम्पर्क भएको र नेपालीहरुसँग प्रत्यक्ष जोडिएको मुलुक भएकाले यो खबरले धेरैको कामको बाधा फुकाउने अपेक्षा गरिएको छ ।

सिंगापुरको यात्रा प्रतिबन्ध फुकुवा हुने मुलुकमा नेपालसहित भारत, बंगलादेश, म्यानमार, पाकिस्तान तथा श्रीलंका छन् । यद्यपि यसका लागि केही सर्त भने पूरा गर्नुपर्नेछ ।

सिंगापुरको स्वास्थ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यी छ दक्षिण एसियाई देशमा कोभिड– १९ को स्थितिको समीक्षापछि यो निर्णय लिइएको हो । सिंगापुरका स्वास्थ्यमन्त्री ओङ ये कुंगले यी देशमा कोरोना महामारीको स्थिति केही समययता स्थिर रहेको बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us