काभ्रेमा कोरोना संक्रमण शून्य

रासस २०७८ कार्तिक १ गते १५:०२ मा प्रकाशित

काठमाण्डु, १ कार्तिक–  जिल्लामा ३ दिनदेखि कोरोना संक्रमण देखिएको छैन । यस अवधिमा ४ संक्रमणमुक्त भएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसिएमसी) जनाएको छ ।

केही हप्तादेखि दैनिकरुपमा निरन्तर आरोलो लागिरहेको संक्रमणको संख्या तीन दिनयता शून्यमा झरेको हो । गत बिहीबार भने एकमा संक्रमण देखिएको तथा एक सङ्क्रमणमुक्त भएको केन्द्रको तथ्याङ्कले देखाएको छ । काभ्रेपलाञ्चोकमा हाल ६९ सक्रिय संक्रमित रहेका छन् ।

जिल्लाको ४ गाउँपालिका चौँरी देउराली, रोशी, महाभारत र खानीखोला हप्तादेखि कोरोना संक्रमणमुक्त भइसकेका छन् । अघिल्लो हप्तादेखि संक्रमणमुक्त हुनेको संख्या भने बढिरहेको केन्द्रको तथ्याङ्कले देखाएको छ । मण्डनदेउपुर नगरमा दुई तथा तेमाल गाउँपालिकामा एक र भुम्लु गाउँपालिकामा एक संक्रमित रहेका छन् ।

जिल्लामा हाल सक्रिय संक्रमितमध्ये बनेपा नगरपालिकामा २३, पाँचखालमा १२, धुलिखेलमा १४, पनौतीमा चार, नमोबुद्ध नगरमा नौ र बेथानचोक गाउँपालिकामा तीन रहेको केन्द्रले जनाएको छ ।

जिल्लामा हालसम्म १४ हजार ६७९ मा सङ्क्रमण देखिएकामा १९२ को मृत्यु भएको छ । हालसम्मका कुल सङ्क्रमितमध्ये ९९ प्रतिशत अर्थात् १४ हजार ४१८ संक्रमणमुक्त भइसकेका छन् ।

जिल्ला प्रशासन कार्यालयले गत असोज २६ गतेदेखि जिल्लाभित्र अनिश्चितकालीन ‘स्मार्ट लकडाउन’ थपेको छ । केन्द्रले समुदायमा संक्रमण दर घटिरहेको तथा साप्ताहिकरुपमा मृत्युदर घटेको अवस्थामा काभ्रेपलाञ्चोकमा ‘एल्लो–जोन’मा परेकाले स्मार्ट लकडाउन केही खुकुलो पार्दै निषेधाज्ञालाई थपिएको जनाएको छ ।

कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि गत वैशाख २० गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us