काठमाण्डु, २१ असोज–हिन्दू नेपालीहरुको महान चाड बडा दसैं आजबाट विधिवत सुरु भएको छ ।
पहिलो दिन घरघरमा घटस्थापना गरी जमरा राखेसँगै दसैं सुरु हुन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार घटस्थापनाको शुभसाइत बिहान ११ बजेर ४६ मिनेटमा छ । दसैंको पहिलो दिन घर, मन्दिर तथा कोत घरहरुमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । नदी, खोला वा खेतबारीबाट बालुवा तथा माटो ल्याएर सालको टपरी वा थालीमा गौ, जौ, मकैलगायत अन्नको जमरा राखिन्छ ।
सोही जमरा बडा दसैंका दिनदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनका हातबाट टीकासँगै लगाउने चलन छ । सरकारी स्तरबाट हनुमानढोका दरबारस्थित दसैं घरमा घटस्थापना गरिने कार्यक्रम छ । आजैका दिनदेखि दसैं घरमा शक्तिकी अधिष्ठात्री देवी पूजाआजा गरिन्छ । फूलपातीका दिन २६ असोजमा हर्ष बढाईसहित हनुमानढोका दरबारमा रहेको सदैं घरमा डोलीमा राखेर फुलपाति भित्र्याइन्छ ।
सोही दिन तलेजु भवानीलाई हनुमानढोका दरबारको मूलचोकमा ल्याएर राखिन्छ । २८ असोजमा महानवमीका दिन घटस्थापना गरिएका स्थानसहित विभिन्न शक्तिपीठ र कोतमा बोका, राँगा, हाँस तथा कुखुराको बलि चढाइन्छ । आजैका दिनबाट काठमाण्डुमा पचली भैरव जात्रा सुरु हुर्ने गर्छ । कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको पूजा गरेसँगै दसैं विधिवत सकिन्छ ।