एमालेमा ओलीलाई सहज, अरुलाई असहज

काठमाण्डु टुडे २०७८ असोज ११ गते ७:४० मा प्रकाशित

काठमाण्डु, ११ असोज– नेकपा एमालेको दसौँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीका लागि पुनः नेतृत्वमा दोहोरिन सहज हुने देखिएको छ ।

पार्टीमा नेतृत्वका लागि ओलीको बलियो प्रतिस्पर्धी नभएको अवस्था र विधान संशोधनलगायत विषयले उनलाई अध्यक्षमा दोहोरिन सहज हुने भएको हो । नेतृत्वका लागि आकांक्षी देखिएका महासचिव ईश्वर पोखरेल र सुवास नेम्वाङका लागि भने अवस्था असहज हुने देखिएको छ ।

विधानमा एउटै पदमा दुई कार्यकालभन्दा बढी रहन नपाइने उल्लेख भएपछि महासचिव पोखरेलका लागि अब उपाध्यक्षबाहेक अर्को विकल्प देखिएको छैन भने सुवास नेम्वाङ पनि उपाध्यक्षमै थन्किनुपर्ने अवस्था आएको छ ।  ६९ वर्ष टेक्न लागेका पोखरेलका लागि पार्टीको नेतृत्व गर्ने अवसर दसौँ महाधिवेशन मात्रै हो । तर मंसिरमा महाधिवेशन हुँदा फागुनमा ७० वर्ष पुग्ने ओली आफैंले अध्यक्ष हुने इच्छा व्यक्त गरेमा पोखरेलका लागि अध्यक्ष हुने ढोका बन्द हुनेछ । त्यस्तै पार्टी नेतृत्वका लागि चाहना राखेका नेम्वाङ पनि अध्यक्ष हुनबाट वञ्चित हुने देखिएको छ ।

अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, भीम रावल पनि दसौं महाधिवेशनबाट उपाध्यक्षमै थन्किनुपर्ने बाध्यता देखिएको छ । माओवादीबाट एमालेमा आएका रामबहादुर थापाका लागि पनि पार्टीमा अर्को पद छैन । ‘अहिलेसम्मको अवस्था हेर्दा फेरि एकपटक नेतृत्वका लागि ओलीलाई नै सहज हुने देखिएको छ । दसाैं महाधिवेशनमा पनि ओलीले अध्यक्षका लागि उम्मेदवारी दिनेछन्, र फागुनपछि के गर्ने भन्नेबारे पार्टीले निर्णय गर्ला’, ओली निकट एक नेताले भने । केन्द्रीय कमिटीको आइतबारको बैठकमा ओलीले नेताहरूको व्यवस्थापनका लागि सात उपाध्यक्षको प्रस्तावलाई सकारात्मक रुपमा लिएको जानकारी दिएका थिए ।

अहिलेको अवस्था हेर्दा ७० वर्षे उमेरहद कायम राखेर विधान महाधिवेशन हुने भएको छ । विधान महाधिवेशनअघि तीन दिनसम्म चलेको केन्द्रीय कमिटी बैठकमा बहुमत केन्द्रीय सदस्यले ७० वर्षे उमेरहदलाई कायम राख्नुपर्ने सुझाव दिएका छन् ।  नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us