काठमाण्डु, १ असोज– राष्ट्रिय जनमोर्चाले पार्टीले देशको राष्ट्रिय स्वाधीनता खतरामा परेको भन्दै एमसीसीजस्तो ‘राष्ट्रघाती सम्झौता’ पारित गराउन अमेरिकाले लगातार नेपाललाई दबाब दिइरहेको उल्लेख गरेको छ ।
बिहीबार बसेको सो पार्टीको केन्द्रीय समितिको बैठकपछि सो पार्टीका अध्यक्ष चित्रबहादुर केसीद्वारा विज्ञप्तिमा जारी गरिएको छ ।
‘अमेरिकाले नेपाललाई स्वीकार गर्न बाध्य पारिएको कथित विकास रकम सुरक्षा रणनीति अन्तर्गत नेपाल आउने भएकोले त्यसले देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामा गम्भीर आँच पुग्ने छ,’ विज्ञप्तिमा भनिएको छ, ‘एमसीसी पारित भएमा त्यसले नेपालको असंलग्न परराष्ट्र नीति खतम हुनेछ र चीनसितको सम्बन्धमा समेत गम्भीर असर पर्नेछ । त्यसैले कुनै पनि हालतमा एमसीसी जस्तो राष्ट्रघाती सम्झौता संसदबाट पारित गराउने सरकारका हरेक षडयन्त्रका विरुद्ध हामीले एकल वा संयुक्त रुपमा संघर्षमा जोड दिन चाहन्छौँ ।’ विज्ञप्तिमा भनिएको छ ।
महाकाली नदीमा तुइन काटेर भारतीय पक्षबाट जयसिंह धामीको हत्या गरिनु, दार्चुलास्थित नेपाली आकाशमा नेपालको स्वीकृति बिना हेलिकप्टर उडाउनेजस्ता भारतका हस्तक्षेपकारी कदमका विरुद्ध वर्तमान सरकारबाट कुनै तत्परता नदेखाएको भन्दै राष्ट्रिय जनमोर्चाले विरोध जनाएको छ ।