दुई वर्षभित्र बागलुङको बरेङमा कालोपत्रे सडक

रासस २०७८ भदौ २९ गते १५:०४ मा प्रकाशित

बागलुङ, २९ भदौ–  बागलुङ सदरमुकामबाट भौगोलिक हिसाबले नजिकै भए पनि सडक सञ्जालका हिसाबले टाढा रहेको गाउँपालिका हो बरेङ गाउँपालिका । २०६३ मा पहिलोपटक छिमेकी जिल्ला गुल्मी हुँदै कच्ची सडक बरेङ पुगेको थियो ।

गुल्मीको शान्तिपुरबाट सातदोबाटो हुँदै बरेङ कच्ची सडक पुग्दा गाउँमै सवारी देखेका बरेङवासीले अब भने कालोपत्रे सडकको सपना देख्न थालेका छन् । आफ्नै जिल्ला सदरमुकाम बागलुङ बजार र गण्डकी प्रदेश राजधानी पोखरा पुग्ने सडकसँग जोडिने गरी बरेङले अबको दुई वर्षमा कालोपत्रे सडक पाउने बताइएको छ ।

एसियाली विकास बैंकले नामकरण गरेको बागलुङ–बरेङ–शान्तिपुर सडकखण्डअन्तर्गत विभिन्न खण्डमा कालोपत्रेका लागि विनियोजित योजना बरेङका सपना हुन् । ‘एसियाली विकास बैंक हाम्रोसम्म आइनै पुगेन, कुश्मीशेरासम्म विस्तार भएको बाटोले केही आशा भने जगाएको थियो,’ गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले भने, ‘अहिले यही सडक कालोपत्रेको योजना विनियोजन भएर काम शुरु भएको छ, हाम्रा लागि खुशीको कुरा हो ।’

यो सडकखण्डअन्तर्गत बागलुङ नगरपालिका–१३ को पाग्जादेखि टाकुरीसम्म १० किलोमिटर र जैमिनी नगरपालिकाको कुश्मीशेरादेखि राङ्खानी देवलधारासम्म १० किमी खण्ड कालोपत्रेको काम चलिरहेको छ । पाग्जातर्फको काम सकिएकाले निर्माण कम्पनी हस्तान्तरणको चरणमा छ भने कुश्मीशेरा देवलधारासम्मको खण्डमा केही संरचना निर्माण भएका छन् ।

बरेङ पुग्न देवलधारादेखि बरेङको लिउँवा गाउँसम्म ११ किलोमिटर खण्डमा कालोपत्र गर्न यसै वर्षदेखि काम शुरु भएको छ । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयले ३४ करोड रुपैयाँ बजेट विनियोजन गरेपछि काम शुरु भएको हो । २०७८ असार ३० गते निर्माण कम्पनीसँग सम्झौता गरेको पूर्र्वाधार कार्यालय बागलुङले दुई वर्षमा काम सकिने जनाएको छ ।

पूर्वाधार कार्यालयका इञ्जिनियर श्यामप्रसाद भण्डारीका अनुसार २०८० साल असार ३० गतेसम्ममा बरेङ गाउँपालिका कालोपत्रे सडकसँग जोडिने छ । उक्त खण्ड कालोपत्रेको जिम्मेवारी पाएको रौताहा÷खानी÷धुलिखेल कम्पनीले काम शुरु गरेको जनाएको छ । सडक कालोपत्रेका लागि आवश्यक ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् तथा प्रशोधनका लागि जग्गाको खोजी भइरहेको कम्पनीले जनाएको छ ।

उक्त खण्ड कालोपत्रे हुँदा जैमिनी नगरपालिकाको कुश्मीशेराबाट २१ किलोमिटरको दूरीमा लिउँवा जोडिने छ भने बागलुङ बजारबाट ४२ किलोमिटर कालोपत्रे सडकमा बरेङ पुग्न सकिन्छ ।

‘अहिले आफ्नै जिल्लाको बाटोभन्दा गुल्मीको बाटो सहज भनेर हिँड्नुपरेको छ,’ बरेङ–५ सुखौराकी रचना पौडेल भन्छिन्, ‘सडक कालोपत्रे भए सदरमुकामबाट छोटोबाटो घर पुगिन्थ्यो ।’ सडक फराकिलो र पक्की हुँदा गाउँपालिकाका अन्य पूर्वाधार विकास, स्वास्थ्यको पहुँच र स्थानीय उत्पादनको बजारीकरणमा सहज हुने गाउँपालिकाको विश्वास छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us