
काठमाण्डु, १५ भदौ– कांग्रेस नेता गगन थापाले पार्टीको आगामी १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
सोमबार काठमाडौं महानगरपालिका–३० मा आयोजित एक कार्यक्रममा उनले भने, ‘वडामा आयोजित कार्यक्रमबाट मैले महामन्त्री पदमा उठ्ने घोषणा गरेको छु । मेरै वडा र अग्रजहरूका बीचमा गौरवसाथ यो घोषणा गरेको हुँ ।’
आफ्नो क्षेत्रबाट सुरु गरेको कामले सफलता पाएको उनले बताए । ‘उम्मेदवारी घोषणाका लागि यो ठाउँभन्दा अर्को पवित्र ठाउँ छैन,’ उनले भने। आफूलाई अग्रज तथा शुभेच्छुकबाट सहयोग मिल्ने अपेक्षा गरेको पनि उनले बताए ।
कांग्रेसको १३ औं महाधिवेशनमा पनि उनी महामन्त्री पदमै चुनाव लडेका थिए। त्यतिखेर उनले अर्जुननरसिंह केसी र शशांक कोइरालासँग प्रतिस्पर्धा गरेका थिए। शशांक विजयी भएका भए । उक्त महाधिवेशनमा नेता थापाले कांग्रेसको तेस्रो धार कृष्ण सिटौला समूहबाट चुनाव लडेका थिए । नागरिक दैनिकबाट