मकवानपुर, १० भदौ– हेटौंडाको मुख्य सडक फराकिलो बनाउनुपर्ने आवाज उठ्न थालेको छ । अन्य जिल्लाका मुख्य शहरका सडक फराकिलो भए पनि हेटौंडाको सडक फराकिलो पार्ने कार्यमा अवरोध हुँदै आएको थियो । अधिकांश स्थानीयवासी सडक फराकिलो पार्नुपर्ने पक्षमा रहे पनि यसका कारण विस्थापित हुनेहरू भने वैकल्पिक मार्ग निर्माण गर्नुपर्ने पक्षमा छन् ।
हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथ कुनै पनि हालतमा फराकिलो बनाउनुपर्नेमा जोड दिए । आज पत्रकारसँगको कुराकानीमा उनले दुबै सडक विस्तार गर्न सङ्घीय सरकारसमक्ष अनुरोध गरिने जानकारी दिए ।
उनले पहिले नै घर निर्माण गर्दा सडकलाई चाहिएको समयमा बिना मुआब्जा भत्काउँछु भनेर सहि छाप गरेकाले अहिले बिरोध गर्नेहरूले सडक फराकिलो पार्ने काममा सहयोग पुर्याउनुपर्ने धारणा व्यक्त गरे ।
प्रमुख महतले राजमार्गको बीचबाट दायाँबायाँ २५÷२५ मिटर सडक विस्तार गर्न उपमहानगरपालिकाको कार्यपालिका बैठक र नगरसभाले निर्णय गरेर सङ्घीय सरकारलाई अनुरोध गर्दा पनि सुनुवाइ नभएको गुनासो गरे । सडक फराकिलो बनाउन पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले अवरोध गरेको कतिपयले आरोप लगाएकामा आफूले अवरोध नगरेको जिकिर उनको थियो ।
“मैले त सडकलाई ३२ मिटर फराकिलो बनाउँ भनेको छु, कतिपयले मेरो घर जोगाउन मैले यस्तो प्रस्ताव गरेको भन्छन् तर ३२ मिटर फराकिलो पार्दा मेरो घर भत्किन्छ । हेटौंडाको बजारभित्र ३२ मिटरको सडक अनि नजिकै ५० मिटरको फराकिलो सडक बनाऔँ भनेको हुँ, त्यसो गर्दा हेटौँडामा दुईटा भव्य सडक थपिन्छ र बजार फैलन्छ”, उनले भने ।