विमला वलीको प्रष्टीकरणः साइबर स्यालहरुले चरित्र हत्या गर्न खोजे

काठमाण्डु टुडे २०७८ भदौ ३ गते १०:१९ मा प्रकाशित

काठमाण्डु, ३ भदौ– लुम्बिनी प्रदेशसभा सदस्य विमला वलीले एमालेको केपी ओली पक्षका कार्यकर्ताले आफ्नो चरित्र हत्या गर्न खोजेको बताएकी छन् ।

वलीले राजनीतिक प्रतिशोधका आधारमा आफूलाई बदनाम गराउने प्रयास भएको बताइन् । वलीले माओवादी सम्वद्ध वाइसीएल कार्यकर्ता एकराज बस्नेतको गालामा चुम्बन गरेको तस्बीर बुधबार सामाजिक सञ्जालमा पोष्ट भएको थियो । वलीले फोटोसपबाट आफ्नो र बस्नेतको तस्वीर जोडिएको भन्दै उनले त्यस्तो कार्यको निन्दा गरेकी छन् ।

‘सामाजिक सञ्जालमा मेरो फोटोलाई फोटोसपबाट मिलाएर जुन किसिमले चरित्र हत्या गर्ने दुस्प्रयास गरियो यसको म कडाभन्दा कडा निन्दा गर्न चाहन्छु’, सामाजिक सञ्जाल फेसबुकमा वलीले लेखेकी छन्, ‘एकाएक मेरो फोटो जोडेर आउँदा म आफैं आश्चर्यचकित भएकी छु । म यो घटनामा सम्बन्धित छैन र जानकार पनि छैन ।’ उनले आफ्नो चरित्र हत्या गर्ने काममा एमाले केपी ओली समूहको ‘साइबर सेना’ सक्रिय भएको आरोप वलीको छ । उनले साइबर सेनालाई ‘साइबर स्याल’ को संज्ञा दिएकी छन् ।

श्रीमानको निधनपछि नेकपाले वलीलाई प्रदेशसभा उपनिर्वाचनमा उम्मेदवार बनाएको थियो । २३ फागुन २०७७ को सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्रको एकता खारेज गरेपछि ओलीले माओवादी रोजेकी थिइन् । आफूलाई एमालेमै बस्न पटकपटक दबाब दिइए पनि माओवादी केन्द्रमै रहेका कारण चरित्र हत्या प्रयास भएको ओलीले बताइन् । माओवादी केन्द्र रोजेपछि केही तत्वले आफूमाथि पटकपटक आक्रमण प्रयास गरेको आरोप उनको छ । मुख्यमन्त्री शंकर पोखरेलको कार्यालयमा एक हप्ता बन्धक बनाइनु पनि त्यसैको उपज भएको उनले उल्लेख गरेकी छन् ।

यसैबीच वाइसीएल कार्यकर्ता बस्नेतले वली नाताले आफ्नो दिदी भएको भन्दै तस्वीरको आधिकारिकतामा प्रश्न उठाएका छन् । आफ्नो फेसबुक अकाउण्ट ह्याक गरेर फोटोसपबाट बनाइएको तस्वीर पोष्ट गरिएको दाबी उनको छ । राजनीतिक प्रतिशोध साधेर चरित्र हत्या र बद्नाम गर्न खोजिएको बस्नेतले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us