काठमाण्डु, २ भदौ– धादिङका दुई चर्चित एमाले नेता राजेन्द्र पाण्डे र सुरेन्द्र पाण्डे दाजुभाई हुन् ।
एमाले विभाजनमा दाई राजेन्द्र माधव नेपाल नेतृत्वको नवगठित (एमाले समाजवादी) मा खुलेका छन् । तर, भाई सुरेन्द्र मुलघरमै ( ओली नेतृत्वको एमालेमा) बसेका छन् । सुरेन्द्र चितवनबाट प्रतिनिधिसभा सदस्य र राजेन्द्र धादिङबाट बागमति प्रदेशसभा सदस्य छन् । सुरेन्द्र झलनाथ खनाल समूह हुँदै माधव नेपाल समूहमा आएका हुन् भने राजेन्द्र पहिल्यैदेखि नेपाल समूहमा थिए । एमालेको नवौं महाधिवेशनमा सुरेन्द्र नेपाल समूहबाट महासचिवका उम्मेदवार थिए । थोरै मतान्तरले उनी ईश्वर पोखरेलसँग पराजित भए ।
सुरेन्द्र केपी ओलीविरोधी मोर्चामा माधव नेपाललाई काँध हाल्ने खम्बा थिए । पार्टी एकताका लागि गृहकार्य गर्न गठिन कार्यदलमा माधव नेपाल समूहबाट सदस्य पनि थिए । तर, १० बुँदे सहमतिको पूर्वसन्ध्याएमा ‘यू–टर्न’ भएर पाण्डे ओली कित्तामा उभिएका थिए । पाण्डेले ओली र नेपाललाई मिलाएर पार्टी एकता बचाउन समन्वयकारी भूमिका खेल्न खोजेका थिए । तर, पछिल्लो समय नेता नेपालले उनको कुरा सुन्न छाडेका थिए ।
केही दिनअघि पाण्डे र नेता भीम आचार्य भारतमा उपचाररत वरिष्ठ नेता झलनाथ खनाललाई भेट्न दिल्ली गएका थिए । उनीहरुले खनाललाई नेपालको साथबाट अगल गरेर ओली समूहमा उभ्याउने प्रयास गरे । तर, खनालले उनीहरुको प्रस्ताव अस्वीकार गरेका थिए । नवगठित एमाले समाजवादीमा खनाल वरिष्ठ नेता चुनिएका छन् ।