
काठमाण्डु, २९ साउन– नेपाली कांग्रेसको १६ देखि १९ भदौसम्मका लागि तोकिएको १४औं महाधिवेशन सार्ने विषयमा शीर्ष नेताबीच सहमति जुटेको छ ।
‘नयाँ मितिबारे शीर्ष तहमा बुधबार छलफल भयो, त्यसपछि बिहीबारबाट केन्द्रीय समिति सुरु भएको छ, मंसिरमा प्रक्रिया सुरु गर्ने र माघमा महाधिवेशन गर्ने विषयमा सभापतिको जोडबल छ,’ प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवानिकट एक नेताले भने ।
सभापति देउवाको सो धारणामा वरिष्ठ नेता रामचन्द्र पौडेल भने असहमत थिए । उनले भदौमा नै प्रक्रिया सुरु गर्नुपर्ने भन्दै आफ्नो असहमति देखाएका थिए । तर, अहिले भने सबै शीर्ष नेता महाधिवेशनको मिति सार्ने विषयमा एक मत देखिएका छन् ।
बिहीबारको बैठकमा भने निर्वाचन समितिले बनाएको निर्वाचन निर्देशिका महामन्त्री पूर्णबहादुर खड्काले पेस गरेका छन् । त्यस्तै समायोजन समितिको प्रतिवेदन उपसभापति विमलेन्द्र निधिले तथा क्रियाशील छानबिन समितिको प्रतिवेदन छानबिन समितिका संयोजक रमेश लेखकले पेस गरेका छन् । राजधानी दैनिकबाट