
काठमाण्डु, १२ साउन– जनता समाजवादी पार्टी (जसपा) ले लुम्बिनी प्रदेश सरकारका तीन मन्त्रीलाई पार्टीबाट निष्काशन गरेको छ ।
निष्काशित हुनेमा भौतिक पूर्वाधार विकासमन्त्री सन्तोषकुमार पाण्डेय, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजयबहादुर यादव र उद्योग, वन तथा वातावरणमन्त्री कल्पना पाण्डे छन् ।
मंगलबार बसेको जसपा कार्यकारीणी समिति बैठकले पार्टी अनुशासनविपरीत एमाले नेता शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएको आरोपमा बर्खास्त गरेको हो । ती सबैलाई जसपाको उपेन्द्र यादव समूहले पार्टी निर्णय र नीतिविपरीत प्रदेश सरकारमा सहभागी भएको भन्दै स्पष्टीकरण सोधेको थियो । तर, उनीहरुले जवाफ नदिएकाले विधानको व्यवस्थाअनुसार निष्काशन गरिएको जसपा नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए ।
सोमबार मात्र निर्वाचन आयोगले बहुमत कार्यकारीणी सदस्यको ‘हेट काउण्ट’ गरी जसपाको आधिकारिकता बाबुराम भट्टराई–उपेन्द्र यादव समूहलाई दिएको थियो । यस्तै बैठकले संसदीय दलको विधानसमेत अनुमोदन गरेको छ ।
दल नेता चयनको प्रक्रियाका लागि दलको नयाँ विधान निर्माण गरिएको हो । दल नेता चयनका लागि तीन सदस्यीय निर्वाचन समितिसमेत गठन गरिएको छ ।
समितिमा नवराज सुवेदी, रमेश यादव र सुशीला श्रेष्ठ छन् ।