
काठमाण्डु, ७ साउन– एमालेभित्र पार्टी एकताका लागि दबाब बढ्दै गएपछि अध्यक्ष केपी ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार रहेको बताएका छन् ।
पार्टीको जारी केन्द्रीय कमिटी बैठकमा उनले केन्द्रीय सदस्यहरूलाई सम्बोधन गर्ने क्रममा नेपाललाई दोस्रो अध्यक्ष दिन तयार रहेको बताएका हुन् । सर्वोच्च अदालतले २०७७ फागुन २३ मा एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काइदिएबमोजिम एकताका लागि हदैसम्म लचिलो हुन तयार रहेको ओलीले बताए । ‘
माधव नेपालले मिल्ने हो भने दोस्रो अध्यक्ष दिने हो । मैले भनेको छु, पार्टी एकता बचाउन माधव नेपाल आउँछन् भने दोस्रो अध्यक्ष दिन म तयार छु,’ बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने । ओली पक्षको तीन दिनदेखि जारी केन्द्रीय कमिटी बैठकमा बोल्ने अधिकांशले पार्टीलाई विभाजन गर्न दिनु हुँदैन भन्ने आवाज उठाएका थिए । त्यसपछि ओलीले मही नै मथेर भए पनि एकताका निम्ति पहल गर्ने बताएका हुन् ।
उता नेपाललाई पनि पार्टी एकताका लागि दबाब बढेको छ । नेपालले बुधबार आफू निकटका नेतासँग छलफल गरेका थिए । त्यसक्रममा पार्टीका उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्यहरू मुकुन्द न्यौपाने र रघुजी पन्तले आफ्ना धारणा राखेका थिए । न्यौपानेबाहेक सबैले पार्टी एकता कायम राख्नुपर्ने, कार्यदलले दिएको १० बुँदे प्रस्ताव कार्यान्वयन गर्न दबाब दिनुपर्ने, नेताहरूमाथि हुने गालीगलौज र अनैतिक गतिविधि रोक्नुपर्ने तथा स्पष्टीकरणका नाममा एकता र १० बुँदे सहमति कार्यान्वयनमा अवरोध गर्न नहुने बताएका थिए । नेपालले पनि आफू सम्मानजनक एकताका पक्षमा रहेको बताएका थिए । नागरिक दैनिकबाट