ओलीसँग मिल्नै लागेका माधव नेपाल फेरि भड्किए

काठमाण्डु टुडे २०७८ असार ७ गते २२:०५ मा प्रकाशित

काठमाण्डु, ७ असार– एमाले वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओलीले संविधानविरोधी र दक्षिणपन्थी तत्वसँग आत्मसमर्पण गरेको आरोप लगाएका छन् ।

 

ओलीले सत्ता टिकाउन त्यस्ता तत्वसँग आत्मसमर्पण गरेको नेता नेपालको भनाइ थियो । ओलीले पार्टी एकताविरोधी हर्कत जारी राखेको आरोप नेपालले लगाए । ‘सत्ता जोगाउन संविधानकाविरोधी र दक्षिणपन्थी तत्वसँग आत्मसमर्पण गर्ने, एकताविरोधी हर्कतलाई जारी राख्ने कुराले एकताबद्ध पार्टी बनाउने प्रयासविरुद्ध को कुन रूपमा लागेको छ । सहजै देख्न सकिन्छ’ नेता नेपालले सामाजिक ‘सञ्जाल फेसबुकमा लेखेका छन् । विभाजन उन्मुख एमाले एकता बचाउन ओली र नेपाल पक्षका दोश्रो पुस्ताका नेताहरु सक्रिय रहेकै बेला नेपालको यस्तो भनाइ बाहिर आएको हो । नेपालको आपत्ति कर्णाली प्रदेशका चार सांसदलाई पुनर्बहाली गर्ने सर्वोच्च अदालतको आदेशविरुद्ध ओलीले भ्याकेट (पुनरावलोकन) निवेदन दर्ता गराएकामा छ ।

 

पार्टी निर्देशनको अवज्ञा गर्दै माओवादी केन्द्रका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएको आरोपमा ओली समूहको महाधिवेशन आयोजक समितिले कर्णाली प्रदेशसभा सदस्यहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई पदबाट निष्काशन गरेको थियो । निष्काशनविरुद्ध सांसदहरु सर्वोच्च गए र सर्वोच्चले उनीहरुलाई पुनबर्हाली गरिदियो । ‘कर्णाली प्रदेशका संसद्हरुमाथि विधानविपरीत गरिएको कारबाहीलाई अदालतले उल्ट्याएपछि फेरि भ्याकेटमा जाने निर्णयबाट पार्टीलाई एकता भंग गर्ने दिशामा लग्न खोजिएको प्रस्ट बुझ्न सकिन्छ’ नेपालले भने ।

ओलीले सोमबार मात्र सांसदहरुलाई पुनबर्हाली गर्ने निर्णयविरुद्ध भ्याकेट निवेदन दर्ता गराएका छन् । नेता नेपालले आफूहरुका तर्फबाट पार्टी एकता बचाउन अधिकतम लचककता प्रस्तुत गर्दा पनि ओलीले त्यसलाई कमजोरीका रुपमा लिएको टिप्पणी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us