अन्ततः सामूहिक राजीनामा दिँदै नेपाल समूह, देउवा प्रधानमन्त्री बन्ने निश्चित

काठमाण्डु टुडे २०७८ वैशाख ३० गते ६:१६ मा प्रकाशित

काठमाण्डु, ३० वैशाख– एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदले अन्ततः सामूहिक राजीनामा दिने भएका छन् ।

 

यसअघि प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुअघि नै राजीनामाको तयारी भए पनि पार्टी एकताका लागि अन्तिम पहल भन्दै उनीहरु राजीनामाबाट पछि हटेका थिए । राजीनामाको साटो मध्यमार्गी बाटो अपनाउँदै उनीहरु २७ वैशाखमा ओलीले विश्वासको मत लिने दिन संसदमा नेपाल पक्षका २८ सांसद अनुपस्थित भएका थिए । नेपाल समूहका सांसदले राजीनामा दिने भएपछि काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने करिब निश्चितजस्तै भएको छ । संसदमा विश्वासको मत लिएसँगै प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थन प्राप्त संसद सदस्यले प्रधानमन्त्रीमा दाबी गर्न दिएको तीन दिनको समयसीमा आज राति ९ बजे सकिँदैछ । राजीनामा नदिँदा संविधानको धारा ७३ (३) अनुसार ठूलो दलको ससंदीय दल नेताको हैसियतमा पुनः ओली नै प्रधानमन्त्री बन्ने भएपछि उनलाई रोक्न र देउवाको नेतृत्वमा वैकल्पिक सरकार गठनको बाटो सहज गर्न नेपाल पक्ष राजीनामा दिने निस्कर्षमा पुगेको एक नेताले जानकारी दिए ।

संसदमा ओलीलाई विश्वासको मत नदिने पक्षमा १ सय २४ सांसद संख्या पुगेको थियो । माधव नेपाल समूहले राजीनामा दिएपछि संसदमा कायम संख्याका आधारमा सोही संख्या देउवाका लागि बहुमत जुटाउन काफी हो । देउवालाई माओवादी केन्द्र र राजपाको बाबुराम भट्टराई–उपेन्द्र यादव समूहले प्रधानमन्त्रीमा सघाउने घोषणा गरिसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us