ओली गैरजिम्मेवार र अलोकतान्त्रिकः माधव नेपाल

काठमाण्डु टुडे २०७८ वैशाख २५ गते ९:३७ मा प्रकाशित

काठमाण्डु, २५ वैशाख– एमाले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोजेको भन्दै प्रधानमन्त्री केपी ओलीप्रति आपत्ति जनाएका छन् ।

प्रधानमन्त्री ओलीको उक्त तयारी गैरजिम्मेवार र अलोकतान्त्रिक भएको आरोप नेपालले लगाए । कोभिड– १९ महामारी नियन्त्रण र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुपर्नेमा बलमिच्याई गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोजेर सरकार आफ्नो दायित्वबाट च्युत हुन खोजेको आरोप नेपालको छ ।

नेता नेपालले गलत बाटोबाट गरिने नियुक्ति प्रयास तत्काल बन्द गर्न र जनताको जीवन रक्षामा ध्यान केन्द्रित गर्न सरकारलाई आह्वान गरेका छन् । ‘कोरोना (कोभिड–१९) भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको साटो बलमिच्याई गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य हो’, नेता नेपालले शनिबार बिहान सााजिक सञ्जालमा लेखेका छन्, ‘मुलुकमा उत्पन्न विषम परिस्थितिमा सरकार जनताप्रतिको आफ्नो मुख्य दायित्वबाट च्युत हुन मिल्दैन ।

अतः गलत बाटोबाट गरिने यस्ता नियुक्ति प्रयासहरू तत्काल बन्द गर्न र जनताको जीवन रक्षामा ध्यान केन्द्रित गर्न आव्हान गर्दछु ।’ संसदमा विश्वासको मत लिनुभन्दा एक दिनअघि प्रधानमन्त्री ओलीले आइतबार संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us