अन्ततः प्रधानमन्त्रीबाट हट्ने भए ओली

काठमाण्डु टुडे २०७८ वैशाख २४ गते २१:५९ मा प्रकाशित

काठमाण्डु, २४ वैशाख– काँग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने भएका छन् ।

काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार देउवा निवास बुढानीलकण्ठमा भएको भेटवार्तामा ओलीविरुद्ध अविश्वास प्रस्ताव अघि बढाउने सहमति भएको हो ।

दुई नेताबीच संसदको विशेष अधिवेशन (२७ वैशाख) अघि नै संसद सचिवालययमा अविश्वास प्रस्ताव दर्ता गर्नेबारे अनौपचारिक सहमति भएको देउवानिकट एक काँग्रेस नेताले जानकारी दिए । प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिन खोजेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले २७ वैशाखमा संसदको विशेष अधिवेशन आह्वान गरेकी छन् ।

संसदबाट विश्वासको मत नपाए ओलीले सोही दिन अधिवेशन अन्त्य गर्दै संसद विघटन गरी मंसिरका लागि मध्यावधि निर्वाचन घोषणा गर्ने तयारी गरेपछि प्रचण्ड र देउवा त्यसअघि नै अविश्वास प्रस्ताव दर्ता गर्ने निस्कर्षमा पुगेका हुन् । दुई नेताबीच आइतबार ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने सहमति भएको छ । काँग्रेसले त्यसबारे निर्णय लिन शनिबार संसदीय दल बैठक बोलाएको छ ।

अविश्वास प्रस्ताव दर्ता भएको अवस्थामा भने संसद अधिवेशन अन्त्य गर्न मिल्दैन । काँग्रेस, माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल समूह र जसपाको बाबुराम–उपेन्द्र समूहबीच ओलीलाई प्रधानमन्त्रीबाट हटाउने सहमति भइसकेको छ ।

काँग्रेसले सभापति देउवालाई प्रधानमन्त्री उम्मेदवारका रुपमा अघि सारेको छ । तर, देउवा अविश्वास प्रस्ताव दर्ताअघि माधव नेपाल समूहका सांसदको राजीनामा हुनेमा आश्वस्त हुन चाहन्छन् । नेपाल समूहका प्रत्यक्ष निर्वाचित २२ सांसदले सामूहिक राजीनामा दिएको अवस्थामा विपक्षी गठबन्धनले बहुमतको सरकार बनाउन सक्छ । देउवा र नेता नेपालबीच बिहीबार बुढानीलकण्ठमै भेटवार्ता भएको थियो ।

भेटमा देउवाले सामूहिक राजीनामाबारे चासो राखेका थिए । जवाफमा नेपालले मुलुकले केपी ओली प्रवृत्तिबाट मुक्ति चाहेकाले आफूहरु उनलाई पदबाट हटाउन जस्तोसुकै कदम चाल्न तयार रहेको भन्दै देउवालाई आश्वास्त पार्ने प्रयास गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us