पर्सामा उपचाररत थप एक संक्रमितको मृत्यु

काठमाण्डु टुडे २०७८ वैशाख २२ गते ११:४५ मा प्रकाशित

पर्सा, २२ वैशाख– पर्सामा उपचाररत कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ । वीरगंज महानगरपालिका–२ छपकैयाका निवासी ६५ वर्षीय वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले निमोनियाबाट पीडित वृद्धको श्वासप्रश्वासमा गम्भीर समस्या आउँदा मृत्यु भएको जनाए ।

स्वास्थ्यमा समस्या भएपछि वृद्धलाई वैशाख १६ गते परिवारजनले अस्पतालमा भर्ना गराएका थिए । अस्पताल भर्ना गर्दा कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएको डा. दासले बताए । उनले अर्को दिन आरटी–पिसिआर प्रविधि मार्फत उनको थ्रोट स्वाब परीक्षण गर्दा कोभिड पुष्टि भएको थियो ।

कोभिड पुष्टि भएसँगै उनलाई अस्पतालको आईसीयू कक्षमा अक्सिजन सपोर्टमा राखेर उपचार गर्नेक्रममा मृत्यु भएको बताइएको छ । एक वृद्धको मृत्युसँगै पर्सामा कोभिडबाट ज्यान गुमाउनेको संख्या ३९ पुगेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us