शंकर पोखरेलको ‘अनुशासनहीन’ तस्वीर सार्वजनिक

काठमाण्डु टुडे २०७८ वैशाख १९ गते २१:४४ मा प्रकाशित

काठमाण्डु, १९ वैशाख– अविश्वास प्रस्ताव छल्न राजीनामा दिएर पुनः मुख्यमन्त्रीको सपथ लिएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको अनुशासनहीनता झल्कने एउटा तस्वीर सार्वजनिक भएको छ ।

आइतबार साँझ प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीको सपथको तयारी भइरहँदा काँग्रेस,माओवादी केन्द्र, जनमोर्चा र एमालेकै विद्रोही गरी बहुमत सांसदले नाराबाजी गरे । पोखरेलले प्रहरी खटाएर प्रदेश प्रमुख धर्मनाथ यादवलाई आफ्नै कार्यालयमा ल्याउन लगाए र सपथ लिए ।

आफ्नो सपथ लगत्तै उनले दुई मन्त्री नियुक्त गरी प्रदेश मन्त्रिपरिषद विस्तार गरे । पोखरेलले वैजनाथ चौधरी र हरि रिजाललाई मन्त्री नियुक्त गरेका छन् । चौधरीलाई आर्थिक मामिला तथा योजना र रिजाललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्त गरेका हुन् ।

चौधरी यसअघि पनि आर्थिक मामिला तथा योजनामन्त्री नै थिए । रिजाल भने पहिलोचोटि मन्त्री भएका हुन् । दुई मन्त्रीले प्रदेश प्रमुखबाट सपथ लिइरहँदा पोखरेल भने पदीय मर्यादाको धज्जी उडाउँदै ढसमस्स आफ्नै कार्यकक्षको कुर्सीमा बसिरहेका देखिन्छन् । प्रदेश प्रमुखले उभिएर दुई मन्त्रीलाई सपथ खुवाइरहेका छन् भने मन्त्रीहरुले पनि उभिएरै सपथ लिएका छन् ।

औपचारिक कार्यक्रम, त्यसमा पनि सपथ ग्रहण समारोहमा आफूभन्दा माथिल्लो ओहोदाका प्रदेश प्रमुखले उभिएर सपथ खुवाइरहँदा मुख्यमन्त्री पोखरेल ढसमस्स कुर्सीमा बसिरहनु अशोभनीय , पदीय मर्यादाविपरीत र अनुशासनीहन व्यवहार हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us