कतार प्रहरीका लागि कुनै माग आएको छैन !

काठमाण्डु टुडे २०७७ चैत २४ गते ७:०७ मा प्रकाशित

काठमाण्डु, २४ चैत– वैदेशिक रोजगार विभागले कतार प्रहरीमा पठाउने भनेर ठगी हुन सक्नेप्रति आम युवालाई सचेत गराएको छ ।

विभागले सोमबार विज्ञप्तिमार्फत कतार प्रहरीका लागि कतारस्थित नेपाली दूतावासबाट कुनै मागपत्र प्रमाणीकरण भएर नआएको भन्दै सम्भावित ठगीबाट बच्न सूचित गरेको हो ।

कतार प्रहरीमा सुरक्षाकर्मीमा पठाउने भन्दै युवासँग राहदानी लिने, अवैध अन्तर्वार्ता लिने जस्ता काम भएको भन्दै उजुरी विभागमा आएकाले यस विषयमा सचेत हुन विभागले विज्ञप्तिमार्फत आग्रह गरेको छ । कतार प्रहरीका लागि विभागबाट हाल कुनै पनि पूर्वस्वीकृति प्रदान गर्ने कार्य नभएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विभागका अनुसार कतार प्रहरीमा पठाइदिने भन्दै राहदानीलगायतका कागजात सङ्कलन गर्ने, अन्तर्वार्ता लिने तथा रकम माग गर्नेलगायतका अवैध काम भइरहेको भन्ने गुनासो प्राप्त भइरहेको छ ।

कुन देशबाट कुन कामका लागि कति माग आएको छ भन्ने विषयमा विभागको वेबसाइटबाट हेर्न र यकिन गर्न सकिने भन्दै आधिकारिकता परीक्षण गरेर मात्र वैदेशिक रोजगारको प्रक्रियामा संलग्न हुन विभागले विज्ञप्तिमार्फत आग्रह गरेको छ । गोरखापत्रबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us